सिक्किम, 12 अप्रेल, के.एन. शर्मा
कोरोना भाइरसको संत्रास सारा विश्वमा फैलिएको छ। वैश्विक महामारीको रूप लिएको कोभिड-19 का कारण अहिलेसम्म विश्वभरीमा 1 लाख 10 हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाइसकेका छन्। लगभग 18 लाख मानिसहरू संक्रमित भएका छन्। कोरोना भाइरसको अहिलेसम्म कुनै औषधी वा भ्याक्सिन बनिसकेको छैन। अहिलेको अवस्थामा कोरोना नियन्त्रण र रोकथामको एक मात्र उपाय सामाजिक दूरी हो। कोरोना भाइरसलाई परास्त गर्न वा भनौँ यसको संक्रमण घटाउन र यसबाट हुने मृत्यु दर घटाउन अहिले विश्वका अधिकांश देशहरूमा लकडाउन गरिएका छ। लकडाउनका कारण उद्योग, यातायात, पर्यटन, व्यवसाय, कलकारखाना लगायत सम्पूर्ण क्षेत्रहरू प्रभावित बनेका छन्। कोभिड-19 ले विश्वलाई आफ्नो चपेटामा ल्याइरहेका बेला ग्रामीण भेगका लगनशिल किसानहरू भने घरमै बसेर जिविकोपार्जन गर्न सकिन्छ भन्ने पाठ सिकाउन थालेका छन्।

थोरै भएपनि आफ्नो जमिनमा उबज्नी गरेको खाद्य सामाग्रीहरूबाट आफू सुरक्षित बन्न सकिने साथै उत्पादन गरेको तरकारी वा अन्य खाद्य सामग्री बजारसम्म निर्यात गरेर लकडाउनका कारण उत्पन्न अभाव हटाउन सकिने उनिहरूको भनाई छ। पश्चिम सिक्किमको भारत-नेपाल सीमा नजिकका गाउँहरू उत्तरे सिम्फोक, हि-पातल, सोपाखा, सेपि, कुनाबारमा रहेका कृषकहरू कृषि व्यवसायबाट मनग्य आम्दानी गरिरहेका छन्।

सिम्फोक निवासी सन्त कुमार खड्का र प्रेम कुमारी छेत्रीले कोभिड-19 महामारीले आफुहरूलाई त्रासित बनाएपनि ग्रामीण स्तरमा कृषि व्यवसाय चलाउनु पर्ने बाध्यता रहेको सुनाएका छन्। आफुहरू व्यवसायिक रूपमा तरकारी खेतीमा लागेको उनिहरूले बताए। कोरोना नियन्त्रणका लागि सरकारको लागु गरेको लकडाउनको पालन गर्दै सामाजिक दूरी कायम गरेर खेतीपातीमा लागेका उनिहरू बताउँछन्।

ग्रामीण खेती गरेर आफ्नो व्यवसाय गर्दै आएका हि-गाउँका दाता राम भट्टराईले ग्रामीण भेगमा बसेपछि आफ्नो मिहेनत, अठोट र प्रतिबद्धताका साथ काम गर्ने हो भने, स्वदेशमै मनग्य आम्दानी गर्न सकिने साथै घरपरिवारको रेखदेखका गर्न सकिने बताए। देन्ताम क्षेत्रमा बसोबास गर्ने प्रायजसो नागरिकहरु कृषि व्यवसायी भएकाले बर्खा भरी खान पुग्ने गरी उब्जनी गर्ने गरेको उनि बताउँछन्। ‘अहिले विश्वसामु एउटा कोरोना भन्ने हैजा फैलिएको छ त्यो हामीले देखेका त छैनौं, तर सुनेको भरमा भए पनि मनमा त्रास छाएको छ।’ उनले भने। सरकारले यस महामारीलाई राज्यमा भित्रिन नदिने जुन काम गर्दैछ, त्यसमा हामी सबैले सहयोग गर्नुपर्ने उनि सुझाव दिन्छन्।

लकडाउनको प्रकोप कस्तो छ? भनेर निर्मल देन्ताम स्वच्छता सहकारी समितिका अध्यक्ष देविलाल गुरुङलाई प्रश्न गर्दा, हिगाउँ, उत्तरे आदि बजारमा निर्मल देन्ताम सोसाइटीले बजार क्षेत्र सफा राख्ने कार्यलाई निरन्तरता दिएको उनि बताउँछन्। महामारीबाट कसरी सुरक्षित रहन सकिन्छ भन्ने जानकारीका साथ स्वास्थ तथा स्वच्छता माथि सोसाइटीले काम गरिरहेको उनि बताउँछन्।

यस विश्वव्यापी महामारीको बेला सिक्किम राज्य सुरक्षित नै रहेता पनि लकडाउनको पालना शहर बजारभन्दा गाउँमा प्रभावकारी रूपमा भइरहेको किसानहरूको भनाई छ। अहिलेसम्म सिक्किममा कोरोना संक्रमित भेटिएका छैनन्। सरकारले पनि राहत ल्याउने कामलाई निरन्तरता दिएको छ। यसका लागि हामि सिक्किम सरकारलाई धन्यवाद दिन्छौँ तर, भोलि बाहिरका राज्यहरुमा नै अन्न पानी सकिएपछि सरकारले पनि हामिलाई सहायता पुऱ्याउन नसक्ला, त्यस्तो संकट उत्पन्न हुँदा हामि गाउलेहरू पनि सरकारलाई सहयोग गर्न आत्मा निर्भर रहन जरुरी रहेको कृषकहरू बताउछन्।









































