सुबास बस्नेत, नयाँ दिल्ली। भारतको राजधानी दिल्लीमा अध्ययनरत नेपाली विधार्थीहरूको छाता सङ्गठन हातेमालो नेपाली विधार्थी समूहले आइतबारका दिन गरिब तथा विपन्न वर्गहरूका लागि कपडा सङ्कलन एवं वितरण गरेको छ। “सेवा नै धर्म हो” भन्ने भनाइलाइ आत्मसाथ गर्दै लत्ताकपडा सङ्कलनबाट सुरुवात गरिएको उक्त कार्यक्रम दिल्लीको लक्ष्मीनगरमा रही सिए अध्ययन गरिरहेका विधार्थीहरूका साथै दिल्लीका अन्य विश्व विधालयमा अध्ययनरत नेपाली विधार्थीहरूको सक्रिय सहभागितामा न्यानो कपडा वितरण गरिएको थियो।
विशेषत डिसेम्बर देखि फेब्रुअरी सम्म दिल्लीमा दिन प्रतिदिन बढिरहने जाडोले आर्थिक रूपमा असक्षम, मजदुर एवं विपन्न वर्गहरूलाई जाडो कटाउन निकै नै गाह्रो हुने र कठ्याङ्ग्रिएर मृत्यु सम्मका भयावह परिस्थिति हुने गरेको छ। सोही कुरालाई ध्यानमा राख्दै खुल्ला आकाश मुनि , सडक पेटिमा अनि पुल मुनि रात कटाउन बाध्य परिवारहरूलाई राहत होस् भन्ने उद्देश्यले कपडा सङ्कलन एवं वितरण कार्यक्रमको आयोजना गरिएको सङ्गठनका सचिव आरक्षण रिजालले बताए ।
विधार्थी एवं सहयोगी उदार मनबाट सङ्कलन गरिएका ५०० थान भन्दा बढी लत्ताकपडाहरूलाई हातेमालोका प्रतिनिधि साथीहरूले दिल्लीको कश्मिरी गेटको हनुमान मन्दिर परिसर र लक्ष्मीनगर वरपरका ठाउँहरूमा वितरण गरिएको कार्यक्रमका संयोजक विपल चौलागाईंले बताए ।
लत्ताकपडा पाएका व्यक्तिहरूका मुहारमा धेरै पछि खुसी पलाएको देखेर आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू गर्नका लागि आफूलाई प्रेरणा मिलेको उनको प्रतिक्रिया थियो।
सहानुभूतिमा मात्र सीमित नभई उदारता र मानवता देखाउनु मानवीय कर्तव्य हो, भन्ने मन्त्र नेपालीहरूले सदैव आत्मसाथ गर्दै आएको र त्यसको प्रत्यक्ष उदाहरण प्रवासमा रहेर पनि हाम्रो यस अभियानमा हातेमालो गर्दै सहयोग गर्न अगाडी लम्किनु भएको सम्पूर्ण प्रति हातेमालो परिवार कृतज्ञ रहेको सङ्गठनका अध्यक्ष रोशन कुमार यादवले बताए ।
“हातेमालो नेपाली विधार्थी समूहले बिगत केहि वर्ष देखि गरिब तथा विपन्न वर्गहरूका लागि कपडा सङ्कलन एवं वितरण गर्दै आएको छ। विधार्थीहरूको हकहितका कार्यहरुका साथै अन्य सामाजिक कार्यहरूमा पनि विगत लामो समय देखि निरन्तर रूपमा क्रियाशील रहेको एक छाता संगठन हो, हातेमालो नेपालि विधार्थी समूह ।









































