सिलगढी, 4 जनवरी/ रुबेन गुरुङ
हाम्रो पहल, अन्तर्राष्ट्रिय नेपाली मासिक जर्नलको प्रतिष्ठा दिवस 2020, को उपलक्ष्यमा कृष्ण प्रधानका दुइवटा नाट्य कृति “सिंङ साँडे” र “ओभानो सिउँदो” को लोकार्पण गरियो।

सिलगढी महानन्द पूल मन्तिर, गुरूङ नगर अवस्थित आर्य समाज मन्दिर भवनमा लोकार्पित समारोहको अध्यक्षता साहित्यिक पत्रकार युवराज काफ्लेद्वारा गरिएको थियो।

प्रमुख अतिथिका रुपमा समीक्षाकार डा. जस योञ्जन “प्यासी”थिए भने विशिष्ट अतिथिगणमा, नन्द हाङ्गखिम, टङ्क शर्मा, पारस कार्की, नगेन्द्र गोर्खा, गजलगो मीरा पोख्रेल, पी. अर्जुन, पूर्ण गुरूङ “निपरूपम” उपस्थित थिए। कालुसिंह रणपहेंलीद्वारा लेखक कृष्ण प्रधानज्युको परिचय। गोमा सुब्बा प्रधानद्वारा सञ्चालन गरिएको समारोहमा सोनु राईले रमाइला गीत गाएर उपस्थित दर्शक साहित्य प्रेमीहरूलाई मनोरञ्जन दिइन् ।

डा. दीपक सुवेदीद्वारा नाटक “सिंङ साँडे” को समीक्षा अनि नाटककार ध्रुव लोहागणद्वारा “ओभानो सिउँदो ” को समीक्षा प्रस्तुत गरिएको। कृतिकार कृष्ण प्रधानले भने, मलाई हाई स्कूलमा मेरा गुरूजी स्व. रामलाल अधिकारीले नाटक लेख्न लगाउँथे, मैले जानी नजानी लेख्न थालें। यसरी मलाई नाटक लेख्ने बानी परेको हो। तर लेखेर पनि थुप्रै नाटक अभ्यास (रिहर्सल) गरेर पनि विभिन्न वाधाहरू आउँदा मञ्चन गर्न नपाएकोले दु:खी रहेको बताए।









































