दार्जीलिङ, 14 जनवरी 2020/ कयेश अंसारी
गोरामुमो जनचेतना संघर्ष समितिले पानीघट्ट सौरेणी समष्टि अन्तर्गत पुटुङ्गमा यथाशीघ्र पिउने पानीको समस्या समाधान गर्न सम्बन्थित निकायको ध्यानाकर्षण गराएको छ । गोरामुमो जनचेतना संघर्ष समितिले स्थानियको गुनासोपछि पानीघट्ट सौरेणी समष्टि अन्तर्गत पुटुङ्गमा निरीक्षण भ्रमण गरेको छ ।

२०० घर रहेको पुटुङ्गमा निरीक्षणको क्रममा पानीको ठूलो समस्या रहेको भेटिएको समितिका अध्यक्षा मन्जिला तामाङले जानकारी दिनुभयो । २०१८ मा पुटुङ्गमा PHE बाट एउटा जलपरियोजना अन्तर्गत एउटा टंकी बनाइएपनि टंकीमा पानीनै नरहेको र जुन स्रोतबाट पानी आउनु पर्ने त्यहाँ पानीको पाईप नरहेको भनिएको छ । अहिले पुरानो टंकीबाट पानी आईरहेको भएपनि त्यहाँ प्लास्टिकको पाईप बिछ्याइएको जानकारी तामाङले दिनुभयो ।
स्थानीय बासिन्दाहरुको भनाई अनुसार पुटुङ्गमा पानीको समस्याको कारण नयाँ टंकी र नयाँ स्रोतबाट पानी ल्याउने कामको थालनी गर्नु पर्ने हो तर पुरानै स्रोतबाट नै पानी ल्याउने प्रयास भइरहेको छ ।

पानीको कमि भएकाले नयाँ स्रोतबाट पानी ल्याउने कोशिश किन गरिएको भन्दै मन्जिला तामाङले प्रश्न गर्नुभयो । तामाङले यहाँका स्थानीय बासिन्दाहरुको पानीको समस्याबारे सम्बन्धित विभागहरुलाई निरीक्षण गर्न अपील गर्दै जलपरियोजनामा ठेकदारले गरेको हेलचेक्राईमा कारवाही गर्न आग्रह गर्नुभयो ।
उहाँले यस बिषयलाई लिएर सम्बन्धित विभागहरुको ध्यानाकर्षण गर्न ज्ञापनपत्रसमेत बुझाउने बताउनुभयो ।









































