नयाँ दिल्ली, 14 जनवरी 2020
दिल्लीको सुरक्षामा कार्यरत दार्जीलिङ-सिक्किम-दिल्ली पुलिस परिवारले आफ्नो वार्षिक कार्यक्रम धुमधामसित पालन गरेको छ । पुलिस कम्युनिटी सेन्टर, मोडेल टाउनमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य राजधानी दिल्लीमा रहेका अन्य समुदाय अनि दिल्लीको सुरक्षामा कार्यरत दार्जीलिङ-सिक्किम-दिल्ली पुलिस परिवारका नयाँ पीढीहरुलाई गोर्खाहरूको संस्कार संस्कृति, रीति रिवाज, भाषा, साहित्यसित परिचय गराउनु रहेको थियो।

स्मरण रहोस् दिल्लीमा कार्यरत दार्जीलिङ-सिक्किम-दिल्ली पुलिस वाहिनी परिवारले पहिलादेखि नै गैरसरकारी संस्था हेल्पिङ्ग ह्यान्डस् अनि अरू गोर्खा सामाजिक सङ्गठनहरूसित मिलेर सामाजिक कार्यहरू पनि गर्दै आइरहेको छ । जसमा प्रति वर्ष 25 अगस्तमा स्वतन्त्र सेनानी जर दुर्गा मल्ललाई फाँसीमा चढ़ाइएको दिन अर्थात् बलिदान दिवस निःशुल्क रोग जाँच अनि रक्तदान शिविरको आयोजन गर्दछ । रक्तदान शिविरबाट प्राप्त रक्तहरू दिल्लीमा बसोवास गरिरहेका गोर्खाहरूलाई अनि बाहिरबाट आउने गोर्खाहरूलाई विरामी परेको बेला निःशुल्क प्रदान गर्नको निम्ति राखिन्छ ।

यसरी नै दार्जीलिङ-सिक्किम-दिल्ली पुलिस परिवार समूहले दिल्लीमा नै ज्यान गएका मृत शरीर अनि मृतकका परिवारले मृत शरीर आफ्नो जन्मस्थान पुराउन चाहेको अवस्था, दुवै कार्यमा निःशुल्क बाकस दिने अनि सम्बन्धित स्थानसम्म आफ्नै कोषबाट रकम निकालेर पुराउने व्यवस्था पनि गर्दै आएको छ ।

क्रमश दिल्लीका गोर्खाहरू अथवा उत्तरपूर्वी क्षेत्रबाट उपचारार्थ आएका रोगीहरूलाई ठूलो आर्थिक सहयोगको व्यवस्था पनि गर्दै आइरहेको छ । यस्तो मानवीय कार्य गर्न पुलिसका यी सामाजिक कार्यकर्ताहरूले अरू विभिन्न ठाउँका सामाजिक सङ्गठन र कार्यकर्ताहरूलाई जोड़ेर एउटा वाट्सएप समूहको गठन पनि गरेका छन्, जसको नाउँ गोर्खा एमरजन्सी हेल्पिङ्ग ग्रुप राखिएको छ । जसमा वकीलहरूलाई पनि जोड़िएको छ भने मुख्य रुपमा उत्तरपूर्वी क्षेत्रबाट आएका अथवा आउने मानिसहरूको सहयोगका लागि दिल्ली पुलिसका आइपीएस रबिन हिबु जड़ित छन् । यसरी नै हेल्पिङ्ग ह्यान्डस् नामक गैरसरकारी संस्थाका संयोजक अनि दिल्ली पुलिसमा कार्यरत योक्षेन लामाको नेतृत्वमा विगत दुई वर्षभन्दा बढ़ी समयदेखि यस्तो मानव सेवाको कार्य भइरहेको छ ।









































