नयाँ दिल्ली , 16 जनवरी 2020
सिंहदरबारलाई नयाँ ढाँचामा व्यवस्थित बनाउने तयारी सरकारले थालेको छ । सिंहदरबारको एउटै घेराभित्र कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका अटाउने व्यवस्थित सिंहदरबार बनाउने तयारी थालिएको सचिव मधुसुधन अधिकारीले जानकारी दिए । सिंहदरबारलाई नयाँ स्वरूप दिनका लागि गुरुयोजना तयार हुने क्रममा रहेको उनको भनाइ छ ।
सचिव अधिकारीले भने– ‘सिंहदरबारलाई नयाँ स्वरूप दिने, राज्यका ३ वटै अङ्ग एकै ठाउँमा हुने, व्यवस्थित सिंहदरबार बनाउने गुरुयोजना निर्माणको काम भइरहेको छ । मन्त्रिपरिषदबाट पास भएपछि काम अघि बढ्छ ।’
सिंहदरबार हाताभित्रै सर्वोच्च अदालतको अर्को भवन बनिरहेको छ । नयाँ संसद भवन निर्माण सम्पन्न भएपछि राज्यका ३ वटै अङ्ग सिंहदरबारभित्र रहनेछन् ।
पुतली बगैचामा सङ्घीय संसद भवन निर्माणको काम सुरु भइसकेको छ । आगामी ४२ महिनाभित्र सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसद सचिवालयको कार्यालय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिले संसद भवन निर्माणका लागि ठाउँ सफा गर्ने तथा जग राख्ने काम धमाधम भइरहेको छ ।
संसद भवन बनाउने ठाउँमा रहेको नेपाली सेनाको चण्डी दल गणलाई हालको रक्षा मन्त्रालयको भवनमा सार्ने तयारी भएको छ । एउटै भवनमा रहेको रक्षा मन्त्रालय र राष्ट्रिय सुरक्षा परिषदको कार्यालयलाई नयाँ भवनमा सारिँदैछ । यस्तै सोही स्थानमा रहेको सेनाको ब्यान्ड गुल्मलाई नारायणहिटी सङ्ग्राहालयमा सार्ने तयारी गरिएको छ ।
नयाँ संसद भवन बनिसकेपछि हाल संसद सचिवालय रहेको भवनलाई मन्त्रालयमा परिणत गर्ने योजना बनाइएको छ ।
पुल्चोक मन्त्री क्वाटर भैँसेपाटी सारिने
मन्त्री क्वाटर पुल्चोकमा रहेका १९ वटा घर भत्काएर त्यहाँ विदेशी अतिथि पाहुना घर बनाउने तयारी छ । त्यहाँ ८ वटा सुविधा सम्पन्न स्टेट गेस्ट हाउस बनाउने योजना छ । यसको अहिले डिजाइनको काम भइरहेको सचिव अधिकारीले जानकारी दिए ।
मन्त्रीहरुको आवास गृहका लागि भैँसेपाटीको खाली जग्गामा नयाँ भवन बनाइँदैछ । अहिले सातवटै प्रदेशका मुख्य मन्त्री र प्रदेश प्रमुखका लागि काठमाडौँ आएका बेला बस्ने र अस्थायी कार्यालय सञ्चालन गर्न भैँसेपाटीमा १४ वटा भवन निर्माणको काम भइरहेको छ ।









































