दार्जीलिङ, 20 जनवरी/कयेश अंसारी
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी 3 दिवसीय भ्रमणका लागि आज दार्जीलिङ पुग्दै हुनुहुन्छ । नागरिकता सम्बन्धि विभिन्न कानूनहरुको विरोध र नेताजी सुभाष चन्द्र बोसको जन्म-जयन्ती समारोह मनाउन दार्जिलिङ जाँदै हुनुहुन्छ । मुख्यमन्त्री बनर्जीले दार्जीलिङमा केन्द्र सरकारले लागु गरेको नागरिकता संशोधन कानून (CAA) , आसाममा लागु गरिएको राष्ट्रीय नागरिकता पंजीकरण र राष्ट्रीय जनसंख्या पंजीकरण NPR को विरोधमा रैली गर्नुहुनेछ । आगामी 22 जनवरीका दिन मुख्यमन्त्री ममता बनर्जीले गोर्खा जनमुक्ति मोर्चाको साथमा विरोध रैली गर्नुहुनेछ । रैलीमा मोर्चाका शीर्ष नेताहरुको पनि उपस्थिति रहने भनिएको छ ।
अवगत रहोस, मुख्यमन्त्री ममता बनर्जीले केन्द्र सरकारले लागु गरेको नागरिकता संशोधन कानून (CAA), आसाम सरकारले लागु गरेको राष्ट्रीय नागरिकता पंजीकरण (NRC) र नागरिकता जनसंख्या पंजीकरण (NPR) को विरोध गर्दै आउनु भएको छ भने ती कानूनहरुलाई पश्चिम बंगालमा लागू हुन नदिने पनि भन्दै आउनु भएको छ ।
3 दिने दार्जीलिङ भ्रमणका क्रममा मुख्यमन्त्री ममता बनर्जीले दार्जीलिङको मलमा योजित हुने नेताजी सुभाष चन्द्र बोसको जन्मजयन्ती समारोहमा पनि सहभागिता जनाउनु हुनेछ ।









































