नयाँदिल्ली, ११ फरवरी, २०२०
एक अध्ययनले खुर्सानी खाने मानिसमा हृदयघातको जोखिम न्यून हुने देखाएको छ । इटालीमा गरिएको नयाँ अनुसन्धानले खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा कम हुने देखाएको हो ।
अनुसन्धानकर्ताहरुले नियमित रुपमा खुर्सानी खाँदा मुटुका रोग नलाग्ने तथा हृदयघातबाट ज्यान गुमाउने खतरा कम हुने तथ्य पत्ता लगाएका हुन् ।
खुर्सानी लोकप्रिय परिकारको रुपमा उपयोग गरिँदै आएको इटालीमा गरिएको एक अध्ययनमा २३ हजार जना मानिसहरुमा मर्ने खतराका बारेमा अध्ययन गरिएको थियो ।
अध्ययन गरिएका ती मानिसहरुमा खुर्सानी खाने नखानेहरु दुवै समावेश थिए । उक्त अध्ययनमा सहभागी भएकाहरुको स्वास्थ्य अवस्था र उनीहरुको खानेकुरा खाने आदतका बारेमा आठ वर्षसम्म नियमित अनुगमन गरिएको थियो ।
त्यस दौरानमा अनुसन्धानकर्ताहरुले के थाहा पाए भने हप्ताको कम्तिमा चार पटक खुर्सानी खाने मानिसहरुमा हृदयघातबाट मर्ने खतरा ४० प्रतिशत कम भएको देखियो ।
जर्नल अफ अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित सो अध्ययनको रिपोर्टअनुसार हृदयघातबाट मर्नेहरुको संख्या आधाभन्दा बढी थियो ।
उक्त अध्ययनमा मोली–सानी अध्ययनका तथांकहरु प्रयोग गरिएको थियो । जसमा दक्षिण इटालीका मोलीसे क्षेत्रका २५ हजार जना सहभागीहरु थिए ।
न्यूरोमेडका डिपार्टमेन्ट अफ इपिडेमियोलोजी एण्ड प्रिभेन्सनका डाइरेक्टर तथा भारेसका इन्सुब्रिया युनिभर्सिटीका प्रोफेसर लिसिया लाकोभियेल्लोका अनुसार खुर्सानीको यो लाभदायक तत्वहरु इटालीको खाद्य परम्पराबाट हस्तान्तरण हुँदै आएको छ ।









































