काठमाडौँ, २५ फरवरी, २०२०
मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।
स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ । मजदुरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । “भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ÷छैन भनी जाँच गर्ने ९भेरिफाइ० काम भइरहेको छ”, उनले भने, “त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।”
सिएमसी कम्पनीले निर्माणकार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्ता (सप्लायर)लाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गर्दै आएका थिए ।









































