नयाँ दिल्ली, 4 मार्च
भारत सरकारले कोविड-19 को प्रकोपलाई ध्यानमा राख्दै देशका सबै विमानस्थलमा विदेशबाट आउने विमानका यात्रुहरुको जाँच गर्ने निर्णय गरेको छ । त्यसैगरि सरकारले दिल्ली सरकारका सम्पूर्ण अस्पतालहरुलाई पनि कोरोना संक्रमण भएका विरामीहरुलाई छुट्टै राख्ने सुविधा सुनिश्चित गर्न निर्देश गरेको छ । आज नयाँ दिल्लीमा कोरोना रोकथाम सम्बन्धि भएको एक उच्च-स्तरीय समीक्षा बैठकपछि केन्द्रीय स्वास्थ्य मन्त्री डाक्टर हर्षवर्धनले देशमा अहिलेसम्म कोविड-19 भाइरस संक्रमणको 28 मामिला देखिएको बताउनुभयो । ती मध्ये 16 जना ईटलीका नागरिक र एक भारतीय ड्राइवर चालित बाहेक एक दिल्लीमा, 6 जना आगरामा, 1 जना तेलंगानामा र 3 घटना केरलमा रहेको छ । त्यस मध्ये केरलका 3 विरामीहरुको अवस्था ठीक भइसकेको छ । स्वास्थ्य मन्त्रीले प्रधानमन्त्रीका मुख्य सचिवले पनि यस मामिलाको निरन्तर समीक्षा गरिरहेको बताउनु भएको छ । डाक्टर हर्षवर्धनले नोभल कोरोना भाईरसको जाँचका लागि 15 प्रयोगशालाहरु स्थापित गरिएको र 19 अन्य प्रयोगशालाहरु पनि छिट्टै संचालित गरिने बताउनुभयो । उहाँले ईरानबाट फर्किने भारतीयहरुको जाँच त्यही गर्ने व्यवस्था मिलाउन ईरान सरकारसित अनुमति मागेको बताउनुभयो । स्वास्थ्यमन्त्रीले वैज्ञानिकहरुलाई भाईरसको जाँचका लागि ईरान पठाइएको बताउनुभयो । यसैबिच प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभरका विशेषज्ञहरुलाई कोविड-19 को संक्रमणलाई रोक्न मानिसहरुको भेला हुने कार्यक्रमको आयोजना नगर्न सुझाव दिँदै यस वर्ष कुनै पनि होली मिलन कार्यक्रममा भाग नलिने फैसला गर्नु भएको छ । त्यसैगरि भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रकाश नड्डा र गृहमन्त्री अमित शाहले पनि होली मिलन समारोहमा उपस्थित नहुने बताउनुभएको छ ।









































