सिलगढी, ४ मार्च, रुबेन गुरुङ
दार्जीलिङका ख्यातिप्राप्त नाटककार अनि निर्देशक टेम्बो लेप्चाको निधन भएको छ । थुप्रै नाटकहरूमा अभिनय गर्नु भएका लेप्चाको मनबहादुर मुखियाको अनि देउराली रुन्छ, शिवकुमार राईको फ्रन्टियर लगायत मोनिका जस्ता महत्वपूर्ण नाटकमा अभिनय गर्नुभएको थियो । फ्रन्टियर नाटक दार्जीलिङ, खरसाङ, कालेबुङ, सिक्किम अनि काठमाडौंमा मञ्चन गरिएको थियो। यो नाटक हेर्न काठमाडौंमा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइराला 10 मिनेटका लागि आउनु भएको थियो। तर पुरै नाटक हेर्नुभएको थियो । नाटकबाहेक लेप्चाले चलचित्र सूनको हारी पनि निर्माण गर्नु भएको थियो, जुन दिल्ली दूरदर्शनबाट प्रसारित गरिएको थियो। उहाँको दोस्रो प्रोजेक्ट रातभरी हुरी चल्यो निर्माण भइरहेको थियो। जुन अब अधुरो रहेको छ। पेन्सिल आर्ट खुबै राम्रो बनाउने लेप्चाका धेरै कविताहरू विभिन्न पत्रपत्रिकामा छापिएका छन्। त्यसैगरि उहाँले गीतहरू पनि उतिकै राम्रा लेख्नु हुन्थ्यो। स्व. लेप्चा मधुमेहको रोगले पीडित हुनुहुन्थ्यो। यसैबीचमा उहाँ अचनाक लडेपछि सिलगढीको एउटा नर्सिङ्ग होममा उपचार चलिरहेको थियो। जहाँ आज बिहान उहाँले अन्तिम श्वास लिनुभएको थियो। उहाँको पार्थिव शरीरलाई भोलि ५ मार्चको दिन ईशाई रीतिबाट अन्त्येष्टि गरिनेछ। टेम्बो लेप्चाको निधनमा दार्जीलिङ र अन्य ठाउँका नाटक-प्रेमीहरूमा शोकको लहर छाएको छ। अर्कोतिर दार्जीलिङको हिमालयन थिएटर, दार्जीलिङ थिएटर ग्रुप, गौरी शङ्कर कला संस्थान, सिलगढीको नटराज कला केन्द्र, पृष्ठभूमि कला संस्थान, चम्पासरी युवा नाट्य समूह, हरिभक्त कटुवाल प्रतिष्ठान, आर्नोवा, डा. किङ्ग गुनु घर्ती फाउन्डेशन आदिबाट लेप्चाको आत्मिक शान्तिको कामना गर्दै शोकाकुल परिवारमा यस्तो बज्रपात सहने शक्ति ईश्वरबाट प्राप्त गरून् भनी कामना गरिएको छ । यसरी नै नाटककार मुक्ति उपाध्याय बरालले पनि लेप्चाको आत्माले चिर शान्ति पाउन् भनी कामना गर्नुभएको छ ।









































