रुपन्देही 2 अप्रेल/ हिम शाह
भारतीय सीमानाकाहरूमा अलपत्र परेका नेपालीहरूलाई तत्काल उद्धार गर्न नेपाली काँग्रेस रुपन्देहीले माग गरेको छ। सीमानाकामा नेपालीहरु अलपत्र परेको विषयमा गम्भिर ध्यानाकर्षण भएको भन्दै नेपाली काँग्रेस रुपन्देहीले आफ्नै देशमा आएर क्वारेन्टाइनमा बस्न तयार भएका नेपालीहरुलाई स्वदेशमा आउने वातावरण बनाउन सरकारसँग माग गरेको हो।
व्यवहारिक कठिनाई र स्वास्थ्य संवेदनशिलतालाई भारतीय पक्षसँग संवाद गरि समस्याको समाधान गर्न सकिने भन्दै सिमाबाट उद्धार गरिएका नेपाली युवाहरुलाई सरकारले स्वास्थ्य परीक्षण गरिदिए उनिहरुलाई खाने बस्ने व्यवस्था नेपाली काँग्रेस रुपन्देहीले गर्ने जनाईएको छ।
जिल्ला सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खांणद्धारा जारी गरिएको विज्ञप्तिमा अलपत्र परेका सबैलाई राख्न आवश्यक परे आफ्नै पार्टी कार्यालयसमेत खाली गर्न तयार रहेको बताईएको छ। पटक-पटक दशगजा क्षेत्रमा आएर अलाप गरिरहेका नेपालीहरुलाई नेपालमै राखेर उनिहरुको स्वास्थ्य परीक्षण लगायत खानपानको व्यवस्थापनमा काँग्रेसले जोड दिएको छ।
नेपाल-भारत सीमानाका सुनौलीमा 304 जना नेपालीहरु अलपत्र परेपछि उनिहरूलाई भारतीय पक्षले नौतनहवामा क्वारेन्टीनमा राखेको छ।









































