नयाँ दिल्ली, 3 अप्रेल
नेकपाका केन्द्रीय सदस्य एवं साउथ एसीया इन्चार्ज तिल बहादुर विश्वकर्माले आफ्नो चरित्र हत्या गर्ने गरि प्रवासी नेपालीहरुलाई सहयोगका लागि भन्दै आफ्नो मोबाईल नम्बर जारी गरिएकोमा आपत्ति जनाउनु भएको छ । लक-डाउनका कारण नेपाल र भारतमा अलपत्र परेका नेपाली मजदुरहरुलाई सहयोगका लागि भनेर नेपालमा बसेका केही व्यक्तिहरुले आफ्नो नाममा दर्ता मोबाईल नम्बर (+91-8415859565) लाई कुनै जानकारी अथवा कुनै पूर्व स्वीकृत बिना सामाजिक सञ्जालमा जारी गरेकाले त्यसले पीडित नेपालीले दुःख पाएको र आफ्नो पनि चरित्र हत्या गर्ने दुष्साहस भएको भन्नु भएको छ।
आज एक विज्ञप्ति जारी गर्दै उहाँले यसरी भ्रामक समाचार जारी हुँदा फोन रिसिभ गर्न समेत असम्भव भएको र कसैलाई पनि यस्तो गलत आश्वासनमा नआउन अनुरोध गर्नुभएको छ ।
आफ्नो मोबाइल नम्बर जारी गर्ने व्यक्तिसँग आफ्नो कुनै परिचय नरहेको भन्दै यस बिषयलाई नेपाल तथा भारतीय प्रहरी प्रशासनमा समेत मुद्दा दायर गरि कानुनी कारबाहीको लागि प्रक्रिया अघि बढाउने बताउनुभएको छ। उहाँले विपदको यो बेलामा सबै मिलेर भारतमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न छाडेर भ्रम फैलाउने र गलत राजनीति गर्नु निन्दनीय भएको पनि बताउनु भएको छ ।
उहाँले CA सरोज अधिकारी नामका व्यक्तिले आफ्नो मोबाईल नम्बर जारी गरेको फेसबुक पोस्ट पनि सार्वजनिक गर्नुभएको छ ।

नेकपाका केन्द्रीय सदस्य तिल बहादुर विश्वकर्मा अहिले भारतको मेघालय राज्यको शिलोङमा रहदै आउनु भएको छ ।









































