बैतडी, 3 अप्रेल/ हिम शाह
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन नेपाल –भारतमा भइरहेको लकडाउनका बीच सीमानाकामा अलपत्र परेका नेपालीहरूलाई भारतीय अधिकारीले स्वास्थ्य परीक्षण गरेर खाना खुवाउन थालेका छन्। पश्चिम नेपालको भारतीय सीमानाकामा अलपत्र परेका नेपालीलाई भारतको पिथौरागढ जिल्ला प्रमुख डा. विजय कुमार जोदण्डे नेपालीहरूलाई खाना खुवाउन आफैँ क्वारेन्टाईनमा पुग्नु भएको हो। सीमानाकामा अलपत्र परेका नेपालीलाई भारतीय स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेर झुलाघाट, धारचुलाको बालुवाकोट र जोलजिवीमा राखिएको छ।
क्वारेन्टाइना राखिएका 1 हजार नेपालीको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय अधिकारीले जानकारी दिएका छन्। लकडाउनकै बेलामा नेपाल आउन भारतका विभिन्न सहरबाट नेपाली मजदुर सीमानाका झुलाघाट र दार्चुलामा 4 दिनदेखि अलपत्र थिए। अलपत्र नेपालीलाई स्वास्थ्य परीक्षणपछि सुरक्षित क्वारेन्टाइनमा राखेर भारतीय अधिकारीले खाना खुवाईरहेेको हाम्रा संवाददाता हिम शाहले जानकारी दिनुभयो।
बैतडीको झुलाघाट र धारचुलामा 1 हजार नेपाली सीमानाकामा अलपत्र परेपछि भारतीय अधिकारीहरु आफैँ खाना खुवाउन सीमानाका पुगेका छन्। नेपाल –भारत दुवै देश अहिले कोरोनासँग संयुक्त रुपमा लडिरहेका छन्। दुवै देशले सीमानाकाको गेट बन्द गरेर पूर्णतया लकडाउन गरेका छन्। यस्तो बेलामा भारतमा काम गर्न आएका नेपाली विभिन्न सहरबाट हिँडेर सीमानाकामा आएर अलपत्र परेपछि भारतीय सुरक्षाकर्मी र जिल्ला प्रमुख आफैँ सीमानाकामा खटिएका छन्।









































