नयाँ दिल्ली, 6 अप्रेल
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सीमामा अलपत्र परेकाहरूका लागि आवश्यकता अनुसार खानपिन, उपचार, उनीहरूसित मानवीय व्यवहार गर्न नेपाल-भारतका सरकारसित माग गरेको छ । आईतबार एक विज्ञप्ति जारी गर्दै भारतमा भएको लकडाउनका कारण अलपत्र परेका नेपालीहरुको उचित व्यवस्थापन हुनुपर्ने भन्दै 7 बुँदे माग अघि सारेको हो ।
” कोरोना महामारीले सम्पूर्ण मानव जातिलाई भयभित बनाएको अवस्थामा रोजगारका लागि भारत आएका श्रमजिवी नेपालीहरु ठूलो संख्यामा सीमासम्म पुगेको र उनीहरुको स्थिति अत्यन्त दयनीय भएकोप्रति मूल प्रवाहले चिन्ता प्रकट गर्दछ” विज्ञप्तीमा भनिएको छ ।
मूल प्रवाहले नेपाल सरकारले भारत सरकारसँग गम्भीर भएर उच्च कुटनीतिक वार्ता गरि भारतमा रहेका नेपालीहरुका समस्या समाधान गर्नुपर्ने पनि भनेको छ। नेपाल र भारतका सरकारबीच एक–अर्को देशका नागरिकहरूलाई जहाँ छन् त्यहीं व्यवस्था गर्ने समझदारी भएपनि भारतीय पक्षबाट त्यो समझदारीलाई इमान्दारितापूर्वक पालन नभएको मूल प्रवाहले भनेको छ। अहिले नेपालका सीमामा देखिएको समस्या भारत सरकारको गैरजिम्मेवार नीतिको परिणाम भएको पनि उसले भनेको छ ।
यो महामारीको बेला भारतका विभिन्न स्थानहरुमा मूल प्रवाहले आफ्नै पहलकदमीमा र कैयौं स्थानहरुम स्थानीय स्वयंसेवी संस्था एवं स्थानीय प्रशासनसँग सहकार्य तथा समन्वयन गरि राहत कार्य गरिरहेको जानकारी गराउँदै राहत कार्यमा संलग्न सम्पूर्ण स्वयंसेवी साथी एवं संस्थाहरुलाई धन्यवाद पनि दिएको छ । मूल प्रवाहले संकटको यो घडीमा व्यक्तिगत, क्यारेरिष्ट तथा राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्न सम्पूर्ण जनसमुदाय, मिडियाकर्मी एवं विभिन्न संघ संस्थाहरुलाई अनुरोध गरेको छ ।


अध्यक्ष दुर्गा बहादुर केसीद्वारा जारी गरिएको विज्ञप्तिमा निम्नलिखित माग गरिएको छः
१. भारत लगायत विश्व भरि प्रवासी जीवन विताइरहेका नेपालीहरुलाई सम्बोधन हुने गरि सकारात्मक सन्देश प्रवाह गर्न नेपाल सरकारसँग माग गर्दछौं ।
२. नेपाल–भारत सीमानामा आएर अलपत्र परेकाहरूका लागि आवश्यकतानुसार खानपिन, उपचार, उनीहरूसित मानवीय व्यवहार गर्न हामी दुबै देशका सरकारहरु समक्ष माग गर्दछौं ।
३. विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार नेपाल र भारतका सरकारहरू वा विभिन्न स्तरका पदाधिकारीहरूका बीचमा भएको समझदारीलाई कडाई र इमान्दारीपूर्वक दुवै देशहरूद्वारा कार्यान्वयन गर्न माग गर्दछौं ।
४. भारतका विभिन्न स्थानबाट सीमासम्म पुगी समस्या भोगिरहेका नेपालीहरुलाई आवश्यक स्वास्थ्य परिक्षण गरि स्वदेश मैं आवश्यकता अनुसारको व्यवस्थापन गरियोस् ।
५. भारतका अधिकांस स्थानहरुमा ढावा, रेस्टुरेन्ट, होस्टल, पिजी, कान्टीन जस्ता असंगठित क्षेत्र एवं दैनिक ज्यालादारी नेपाली मजदुरहरुलाई खान, बस्नको व्यवस्था गरियोस् ।
६. भारतका विभिन्न स्थानमा असंगठित क्षेत्र एवं यो महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको समस्याले दैनिक ज्यालादारीमा कार्यरत नेपाली श्रमिकहरु आफ्नो स्वास्थ्य समस्यालाई लिए अत्यन्तै भयभित छन्, तत्काल उनीहरुलाई भयमुक्त हुने बाताबरण तयार गरियोस् ।
७. यो लकडाउनको परिवेशमा नेपाली श्रमजिवीहरु धमाधम आफ्नो मातृभूमि फर्किन चाहिरहेका छन्, विश्वस्वास्थ्य सङ्गठनको प्रोटकल अनुसार उनीहरुलाई जहाँ छन् त्यहीँ आवश्यक व्यवस्था गरियोस् ।









































