कालेबुङ, 5 अप्रेल/ शीला शर्मा
कालेबुङ जिल्ला अन्तर्गत गोरूबथानमा मिलन सेवा समाजले खाद्य सामग्रीहरू वितरण गरेको छ। कोरोना भाइरसबाट बच्न प्रधानमन्त्री नरेन्द्र मोदीको आदेशलाई पालन गर्दै देशभरीका मानिसहरू घरैमा बसिरहेका छन्। यस्तो अवस्थामा मानिसहरूलाई खाद्य सामग्री अपुग हुनु स्वभाविक कुरा हो। यस क्रममा सरकारबाट अनि गैरसरकारी सङ्गठनहरूले आवश्यक परेका मानिसहरूलाई खाद्य सामग्रीहरू वितरण गरिरहेका छन्।

यही सन्दर्भमा कालेबुङ जिल्लाको गोरूबथानमा मिलन सेवा समितिले त्यहाँको माल बस्ती क्षेत्रमा 70 परिवारलाई आवश्यक खाद्य सामग्री वितरण गरेको छ। समितिले लकडाउनका कारण समस्यामा परेका परिवारलाई दाल, चामल, तेल, नुन, मसला, आलु, न्युट्रेलालगायातका खाद्य सामग्री वितरण गरेको हो।

सन् 1991 मा स्थापित मिलन सेवा समितिले आफ्नो स्थापना कालदेखि नै समाजमा आइपर्ने विभिन्न समस्याहरूको बेलामा परोपकारी कार्य गर्दै आइरहेको छ।यो खाद्य सामग्री वितरण टोलीको नेतृत्व समाजका अध्यक्ष बसन्त गुरूङले गर्नुभएको थियो। खाद्यान्न वितरण कार्यक्रममा समाजका महासचिव कुन्दन प्रधान लगायत सदस्यहरू बिनोद लामा, सुनेस मल्लिक, रतन राई, कमल प्रधान, देवन बस्नेत, हेमन्त प्रधान, हरि छेत्री, प्रकाश प्रधान र डीबी छेत्रीलगायतको उपस्थिती रहेको थियो।

मिलन सेवा समितिले कतैबाट संग्रह नगरी संस्थाकै कोषबाट खाद्यान्न वितरण गरिएको थियो ।









































