काठमाण्डौँ, 7 अप्रेल
कोरोना भाइरस (कोभिड-19) को संक्रमण भएका बिरामीलाई उपचार गर्न निक साइन्स इन्स्टीच्युटले सरकारलाई 10 थान पोर्टेबल भेन्टिलेटरहरु उपलब्ध गराएको छ। इन्स्टीच्युटका कार्यकारी निर्देशक डा. अनिल बहादुर श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा 10 थान भेन्टिलेटर उपलब्ध गराउनुभएको हो।

इन्स्टीच्युटले यसअघि पनि विभिन्न 47 वटा अस्पतालहरुमा स्वास्थ्य सेवा विभागको समन्वयमा 1 हजार थान पी.पी.ई. सेट उपलब्ध गराएको थियो। भेन्टिलेटर हस्तान्तरण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले कोरोना भाइरसको संक्रमणबाट सिकिस्त भएका बिरामीको ज्यान जोगाउन भेन्टिलेटरले सहयोग पुऱ्याउने बताउनुभयो।

त्यस्तै पोर्टेबल भेन्टिलेटर बुझ्दै मन्त्री ढकालले संकटका बेला उपलब्ध भएका स्वास्थ्य सामग्रीहरु महत्वपूर्ण हुने बताउनुभयो।

उहाँले उपलब्ध भेन्टिलेटरहरु मध्ये 2 थान सुदूरपश्चिम प्रदेशमा, 2 थान गण्डकी प्रदेश, 2 थान बुटवलमा पठाउने र 4 थान काठमाडौँ मै जगेडामा राखिने बताउनुभयो। जगेडामा राखिएका भेन्टिलेटरहरु आवस्यकता परेको ठाउँमा पठाउने व्यवस्था मिलाउने समेत उहाँले बताउनुभयो। भेन्टिलेटर आफै सास फेर्न नसक्ने विरामीलाई सास फेर्न मद्दत गराउने मेसिन भएकाले कोरोना भाइरसको संक्रमण भएका विरामीलाई उपचार गर्न महत्वपूर्ण हुन्छ।









































