काठमाण्डौ, 8 अप्रेल
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र समाजिक दुरी कायम गर्न अपिल गर्नुभएको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19 को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरुको पालना गर्न र समाजिक दुरी कायम गर्न सभापति देउवाले सम्पूर्ण नेपालीहरुलाई अपिल गर्नुभएको हो।
पूर्व-प्रधानमन्त्री देउवाले सीमापारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वारेन्टाइनमा राख्न समेत सरकारलाई आग्रह गर्नुभएको छ। उहाँले सरकारलाई पारदर्शी रूपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो? त्यसको अध्ययन गरेर अगाडि बढ्नसमेत सरकारलाई अनुरोध गर्नुभएको छ। सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गर्नुभएको छ।
यस्तै नेपाली काँग्रेसका सम्पूर्ण सदस्य एवम् कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गर्नुभएको छ। राजनीतिक दल सुवेच्छुक संस्थाहरुलाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्नसमेत आग्रह गर्नुभयो। विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत अपिल गर्नुभएको छ ।
सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति दुःख समेत व्यक्त गर्नुभएको छ। उहाँले मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभयो।









































