काठमाण्डौँ, 13 अप्रेल
संघीय संसद राष्ट्रिय साभाका अध्यक्ष गाणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नुभएको छ। कोरोना भाइरस (कोभिड-19) को संक्रमण र देश लकडाउनमा रहेको अवस्थमा जनप्रतिनिधिहरुको भूमिकाको विषयमा अध्यक्ष तिमिल्सिनाले सांसदहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गर्नुभएको हो। अध्यक्ष तिमिल्सिनाले लकडाउनको अवस्थामा जनस्तरमा पर्ने समस्याहरुको सूचना लिएर समाधानका लागि लागि पर्न सांसदहरुलाई आग्रह गर्नुभयो। उहाँले सामाजिक दुरी कायम गर्दै आफ्नो भूमिकालाई सक्रिय बनाई सेवामा लाग्न समेत आग्रह गर्नुभयो।
छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदिय दलका नेता दिनानाथ शर्माले लकडाउनको अवस्थामा जनतामा परेको समस्याको समाधानका लागि सरकारले गरेका प्रयासहरुलाई अझबढी तिब्रता दिनुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका संसदिय दलका नेता राधेश्याम अधिकारीले कोरोना भाइरसको संक्रमणको महामारीको आवस्थामा सरकारको कुन निकायले दिने आदेशलाई पालना गर्ने भन्ने दुविधा जनमानसमा रहेको बताउनुभयो। उहाँले सरकारले दिएको आदेश पालना गर्नुपर्ने या नपर्ने हो त्यसमा सरकार आफै स्पस्ट हुन नसकेको दावी समेत गर्नुभयो। अस्पस्ट आदेशका कारण कोभिड-19 को संक्रमणको जोखिमसँग जुध्न कठिन भइराखेको उहाँले बताउनुभयो। नेता अधिकारीले सीमामा रहेका नेपालीलाई राष्ट्रियताका हिसाबले मानवीयताका हिसाबले पनि नेपालमा ल्याउनुपर्ने बताउनुभो।
दिगो विकास तथा सुशासन समिति सभापति समेत रहनुभएकी सांसद तारादेवी भट्टले स्थानीय पूर्वाधार साझेदरी कार्यक्रमको रकम केरोना भाइरसको रोकथामका लागि प्रयोग गर्नुपर्ने बताउनुभयो। उहाँले कोरोना भाइरसको संक्रमण भएका बिरामीको उपचारमा खटिने स्वास्थ्य कर्मी र नागरिकको सुरक्षामा खटिने सुरक्षाकर्मीको मनोबल उच्च बनाउन सरकारले विशेष प्याकेज घोषणा गर्नुपर्ने बताउनुभयो।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले चीन सरकारले स्वास्थ्य सामग्री सहितको स्वास्थ्य सेवा सहयोग गर्छु भन्दा समेत सरकारले सहयोग नलिनुको सम्बन्धमा स्पस्ट पार्नुपर्ने बताउनुभयो। उहाँले राहत वितरणको सिफारिस गर्ने जिम्मेवारी वडा सदस्यलाई दिनुपर्ने र अनुगमन वडाअध्यक्षले गर्नुपर्नेमा जोड दिनुभयो।
सांसद प्रमिला कुमारी चीनबाट आएका नेपाली विद्यार्थीहरुलाई क्वारेन्टाइनमा राखे जस्तै भारतबाट आएका नेपाली नागरिकलाई क्वारेन्टिनमा राख्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो। उहाँले उचित तरिकाले क्वारेन्टाइनमा राख्न नसक्दा जोखिम सिर्जना भएको र भयाभहको अवस्था आएको बताउनुभयो।
भिडियो कन्फ्रेन्समा सांसदहरुले स्थानीय सरकारले गरिरहेका प्रयास, कोरोना संक्रमण फैलनबाट रोक्न र उपचारका लागि सरकारले चालेका कदमहरु, लकडाउनमा नागरिकलाई परेका समस्या र जनप्रतिनिधिहरुको भूमिकाका विषयमा छलफल गरेका हुन्।









































