काठमाण्डौँ, 14 अप्रेल
सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी बैसाख 15 गतेसम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो। सरकारले गत चैत 11 गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ। तर कोरोना भाइरस संक्रमित भेटिने क्रम नरोकिएपछि सरकारले पुनः 12 दिन लकडाउनको समय थप गर्ने निर्णय गरेको हो।
हालसम्म नेपालमा 16 जना कोरोना संक्रमित भेटिइसकेका छन् भने मंगलबार मात्रै राजधानीको सनसिटी अपार्टमेन्टमा बसेका 2 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोमबार पनि कैलाली र रौतहटमा थप 1/1 जनामा कोरोना भाइरसको संक्रमित भेटिएका थिए।
यसअघि सरकारले चैत 11 गते चैत 18 गतेसम्मका लागि लकडाउनको घोषणा गरेको थियो। त्यसपछि फेरि चैत 25 गतेसम्मका लागि लकडाउन गरेकोमा तेस्रो चोटी समय थप्दै बैसाख 3 गतेसम्मका लागि लकडाउन लम्ब्याएको थियो। अहिले फेरि चौथो पटक समय थप गर्दै सरकारले बैसाख 15 गतेसम्मका लागि लकडाउनको समय थप गरेको छ। यता छिमेकी देश भारतले भने मे 3 अर्थात् बैसाख 21 गतेसम्म लकडाउन घोषणा गरेको छ।









































