चण्डीगढ, 14 अप्रेल
नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाले लकडाउनका कारण समस्यामा परेका नेपालीहरूलाई खाद्य सामग्री वितरण गरेको छ। शाखा अध्यक्ष शनी शर्माको नेतृत्वमा सचिव रेशम रानाको विशेष सहयोग र समिति कार्यकर्ता एवम् महिला समिती अध्यक्ष देवी पौडेलको सक्रियता चण्डीगढस्थित सेक्टर 45 (बुडैल) का 20 परिवारलाई 20 दिनलाई पुग्ने गरी चामल, आँटा, नुन, तेल, चिनि र मरमसला लगायतका खाद्य सामग्री वितरण गरिएको हो। राशन वितरण कार्यमा शाखा समितिका पूर्व सचिव एवम् क्षत्रिय सह-महासचिव ढाका राम पौडेलको विशेष योगदान रहेको थियो।

कोरोना भाइरस प्रकोप रोकथाम तथा नियन्त्रणको लागि अहिले भारत र नेपाल पूर्ण रूपमा लकडाउन छ। लकडाउन भएसँगै भारतमा मजदुरी गर्ने नेपालीहरू सबैभन्दा बढी समस्यामा परेका छन्। लकडाउनका कारण उनिहरूको जागिर खोसिएसँगै उनिहरूमा खानापिनाको समस्या देखिन थालेको छ।

चण्डीगढस्थित सेक्टर 45 (बुडैल) मा नेपालीहरू अलपत्र परेको खबर पाएपछि उनिहरूलाई भोकै मर्ने स्थिति नआओस् भनेर खाद्य सामग्री वितरण गरिएको नेजस पश्चिमोत्तर क्षेत्र भारतअन्तर्गत चण्डीगढ शाखाका अध्यक्ष शनी शर्माले बताउनुभयो। लकडाउनको सुरूआत देखि नै चण्डीगढमा समस्यामा परेका नेपालीहरूलाई खाना र बस्ने बासको व्यवस्थापन गर्दै आएको अध्यक्ष शर्माले बताउनुभयो। भारतमा मे 3 तारीखसम्मका लागि लकडाउनको अवधि बढाइएको छ। भारतमा लकडाउन बढाइएपनि कुनैपनि नेपालीहरूमा भोकै मर्ने स्थिति आउन नदिने अध्यक्ष शनी शर्माले वचन दिनुभयो।










































