नयाँ दिल्ली डेस्क, 17 अप्रेल
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ। वैश्विक महामारीको रूप लिएको कोभिड-19 का कारण अहिलेसम्म 1 लाख 48 हजार 641 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 22 लाख 5 हजार 976 पुगेको छ। 5 लाख 58 हजार 168 जना उपचारपछि ठिक भएर घर फर्किएका छन्। कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 34 हजार 641 जनाको ज्यान गएको छ भने संक्रमितको संख्या 6 लाख 78 हजार 210 जना रहेका छन्। अमेरिकापछि इटालीमा सबैभन्दा बढी 22 हजार 170 जनाको ज्यान गएको छ। त्यहाँ 1 लाख 68 हजार 941 जनामा संक्रमणको पुष्टि भएको छ।
त्यसैगरी स्पेनमा अहिलेसम्म 19 हजार 315 जनाले ज्यान गुमाएका छन्, भने त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 84 हजार 948 पुगेको छ। चीनमा संक्रमितहरूको संख्या 82 हजार 692 पुगेको छ। 4 हजार 632 जनाले ज्यान गुमाएका छन्। चीनमा 77 हजार 944 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। भने सक्रिय संक्रमितको संख्या 116 जना रहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 13 हजार 835 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 452 पुगेको छ। भारतमा उपचारपछि 1 हजार 777 जना सञ्चो भएर घर फर्किएका छन्।
नेपालमा भने कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या 16 जना यथावत छ। 1 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन् भने 15 जनाको विभिन्न अस्पतालहरूमा उपचार चलिरहेको छ।









































