काठमाण्डौँ, 18 अप्रेल
राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एन.ए.पी.एन.) ले एचआईभी संक्रमित 12 वर्षमुनिका बालबालिकालाई दुई महिनाको लागि राहत वितरण गर्ने भएको छ। जीवन दायिनी एन्टिरेट्रो भाइरल (ए.आर.भी.) औषधि खाइरहेका देशभरका 6 सय 68 बालबालिकालाई राहत वितरण गरिने महासंघले जनाएको छ। महासंघले प्रतिमहिना 8 किलो चामल, 1 किलो दाल, 1 किलो गेडागुडी, 10 वटा अण्डा, 1 किलो गहुँको पीठो, 1 किलो चिनी राहत स्वरुप प्रदान गरिने एन.ए.पी.एन.-का अध्यक्ष राजेश दिदियाले जानकारी दिनुभयो। यसैगरी दूध 2 लिटर, फलफूल 1 किलो र खाने तेल 1 लिटर वितरण गरिनेछ। उक्त राहतसँगै यातायात खर्चवापत 80 रुपैयाँसमेत प्रदान गरिने उहाँले जानकारी दिनुभयो। महासंघको खर्च नहुने र भइपरी आउने बजेटबाट रकम छुट्याएर 2 वर्षमुनिका 6 सय बालबालिकालाई राहत वितरण गरिने उहाँले बताउनुभयो।
एचआईभी संक्रमित 45 वर्षमाथिका 7 सय 32 जनालाई पनि बालबालिका सरह 2 महिनाको लागि राहतस्वरुप खाद्यान्न तथा पोषण सहयोग गरिने भएको छ। अभिभावक गुमाएका अति गरिब तथा विपन्न 12 वर्षमुनिका बालबालिका र 45 वर्षमाथिका संक्रमितहरुलाई एनएपीएनमा आवद्ध 59 वटा समुदायमा आधारित गैरसरकारी संघसंस्थाले बालबालिकालगायतलाई उक्त राहत वितरण गर्नेछन्। नेपालमा 16 वर्षमुनिका 1 हजार 3 सय 45 जना बालबालिका एचआईभी संक्रमित रहेका छन्। जसमा 7 सय 30 बालक र 6 सय 15 बालिका रहेका छन्। उनीहरुमा पनि 1 अभिभावक गुमाएका बालबालिकाको संख्या पाँचसय पचास रहेको अध्यक्ष दिदियाले जानकारी दिनुभयो । एकसय 91 बालबालिकाका दुवै अभिभावक छैनन्।
एनएपीएनको तथ्यांकअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी तीनसय दश बालबालिका एचआईभी संक्रमित रहेका छन्। त्यस्तै प्रदेश 5 मा दुई सय 92, बागमती प्रदेशमा दुई सय 74, प्रदेश 2 मा एकसय 72, गण्डकी प्रदेशमा एकसय 48, प्रदेश 1 मा 97 र सबैभन्दा कम कर्णाली प्रदेशमा 52 जना एचआईभी संक्रमित बालबालिका छन्।
सरकारले ग्लोबल फण्डमार्फत एचआईभी संक्रमित बालबालिकालाई प्रत्येक महिना एकएक हजार रुपैयाँसमेत उपलब्ध गराउँदै आएको छ। एनएपीएनले घरदैलो गरी कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले गरेको लकडाउनको समयमा घरदैलोमार्फत देशभरका एचआईभी संक्रमितको हातहातमा एआरभी औषधि पुऱ्याउँदै आएको छ।









































