नयाँ दिल्ली, 18 अप्रेल
कोरोना महामारीका कारण नेपाल-भारत सीमा पूर्ण रूपमा बन्द रहेका बेला पनि मानव तस्करहरु सक्रिय रहेका छन्। लकडाउनले भारतको धार्चुलामा क्वारेन्टिनमा बसेका एक युवकले आफ्नी आमाको स्वर्गारोहण हुँदा क्रिया गर्न 55 किलोमिटरको दूरीमा रहेको नेपाल घर जान नपाएको अवस्थामा नेपालबाट भारतमा हुने महिला तस्करी भने सहजै भइरहेको छ। भारत गत मार्च 21 तारीखदेखि पूर्ण रूपमा लकडाउन छ। योसँगै नेपाल-भारत सीमामा आवत-जावत पनि ठप्प छ। लकडाउनकै बिच अर्थात् 24 तारीखमा भारतको उत्तरी राज्य राजस्थान पुर्याईएकी एक किशोरीलाई नेपाली राजदूतावास नयाँ दिल्लीले उद्धार गरेको छ।
दूतावासले चाईल्ड लाईन जयपुर र जयपुर पुलिसको सहयोगमा नेपालको पोखरा घर भएकी 17 वर्षीया किशोरीको सकुशल उद्धार गरेको हो। ती किशोरीलाई नशालु पदार्थ मिसाएको मिठाई खुवाएर अचेत अवस्थामा राजस्थान पुर्याईएको थियो। यस विषयमा दूतावासले आफन्त नेपाललाई खबर गरेको थियो।
मानव बेचबिखनविरूद्ध काम गर्ने आफन्त नेपालको पहलमा ती किशोरीलाई अहिले बाल कल्याणको आवास गृहमा राखिएको छ। लकडाउन खुलेर नेपाल-भारत सीमानाकामा आवागमन सहज भएपछि किशोरीलाई आवश्यक कानूनी प्रक्रिया पूरा गरेर स्वदेश फर्काईने आफन्त नेपालका भारत प्रतिनिधि नविन जोशीले बताउनुभयो।









































