काठमाण्डौँ, 21 अप्रेल
उदयपुरको मस्जिदमा रहेका जमातीहरुमा कारोना पोजेटिभ देखिएपछि अहिले देशभरीका मस्जिद र मद्रसाहरुमा अनुगमन थालिएको छ। मुस्लिम आयोग आफैले समिति गठन गरेर स्थानीय प्रशासनसँगको सहकार्यमा अनुगमन थालेको हो। मंगलबार उपत्यकामा रहेका मस्जिदहरुमा अनुगमन गरिएको छ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित मुस्लिम आयोगको टोलीले मंगलबार काठमाडौंको घण्टाघर स्थित मस्जिद र मद्रसामा अनुगमन गरेको हो। मस्जिदमा अनुगमनपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मस्जिदहरुमा जमातीहरु लुकेर बसेको आशंका जनमानसमा रहेकाले अनुगमन गरिएको बताउनुभयो। उहाँले अनुगमनका क्रममा कोही पनि लुकेर बसेको नपाइएको बताउनुभएको छ। दुवै ठाउँमा 4/4 जना धर्मगुरु, तिनिहरूका सहयोगी 2/2 जना र 2/2 जना कर्मचारी गरी 8/8 जना मात्र रहेको पाइएको मेयर शाक्यले बताउनुभयो। कुनैपनि धार्मिक क्रियाकलापमा नियमित प्रकृयालाई नरोक्ने तर भक्तजनहरुलाई लकडाउनको अवस्थामा प्रवेश गर्न नदिन आग्रह गरेको पनि उहाँले बताउनुभयो। मेयर शाक्यले कोही लुकेर बसेको अवस्था भएमा गृह प्रशासन तथा स्थानीय सरकारलाई जानकारी गराउन आग्रहसमेत गर्नुभएको छ। अनुगमनपछि समेत कोही आउन सक्नेमा महानगरपालिकाले निरन्तर जानकारी लिइरहने उहाँले बताउनुभयो।

मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारीले उदयपुरको घटनापछि जनमानसमा पर्न गएको भ्रम चिर्नका लागि मुस्लिम आयोगले सर्वपक्षिय बैठकमार्फत अनुगमन समिति गठन गरी अनुगमन थालिएको बताउनुभयो। हरेक मस्जिद र मद्रसामा अनुगमन गरी जनमानसमा फैलिएको भ्रम चिर्न खोजिएको बताउनुभ । कुनैपनि मस्जिद वा मद्रसामा कोही पनि लुकेर नबसेको उहाँले बताउनुभयो। अझैपनि कोही छुटेको भए स्थानीय सरकारलाई जानकारी गराउन आयोगले समेत अपिल गरेको छ।

गत शुक्रबार उदयपुरको एक मस्जिदमा बस्दै आए 12 जना जमातीहरुमा कोरोना भाइरस संक्रमण फेला परेको थियो।









































