काठमाण्डौँ, 22 अप्रेल
मुस्लिम संघ नेपालले तब्लीक जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल ऱ्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ। जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गराएर परीक्षण गराउन संघले अपिल गरेको हो। संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तब्लिक अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोना मुक्त रहेको प्रमाणपत्र लिन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘अझै पनि समय छ। नेपालमा रहेका तब्लिकका अगुवा साथीहरु कुन-कुन जिल्लामा को कहाँ छन् उनीहरुलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा आएर ऱ्यापिड टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भनेर अनुरोध गर्दछु।’’
अध्यक्ष सतारले तब्लिक जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन आग्रह गर्नुभयो। जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण बजार हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो। विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिड्नै नहुने भन्ने धारणा त्याग्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो। कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उहाँले नेपाल सरकारले घोषणा गरेको लकडाउनको पालना गर्दै सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गर्नुभयो। अध्यक्ष सतारले रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दुरी कायम गरेर पढ्न आग्रह गर्नुभयो।









































