देहरादुन, 29 अप्रेल
हुन त लकडाउन हामी तपाईलाई कोरोना महामारीबाट बचाउने एउटा ब्रह्मास्त्र हो । तर यसका कारण कतै-कतै मानिसहरु यति लाचार भएका छन कि परिवारको सदस्यले ज्यान गुमाउँदा अन्तिम पटक अनुहार समेत देख्न पाइरहेका छैनन् । यस्तै एक घटना उत्तराखण्ड राज्यको देहरादुनमा घटेको छ । त्यहाँ हरिद्वारमा काम गर्न गएका एक नेपालीको मुटुसम्बन्धि रोगका कारण निधन भएपछि पारिवारिक सदस्य बिनानै अन्त्येष्टी गरिएको छ । जानकारीका अनुसार बागलुङको निशी खोला गाऊँपालिका वडा नं. 3 का 38 वर्षीय जीतबहादुर घर्ती मगर हरिद्वारमा अनलाईन मार्केटिङको काम गर्ने गर्दथे । लकडाउनकै क्रममा करिब 4 दिन अघि जीतबहादुरलाई हृदयघात भएपछि स्थानिय अस्पतालमा भर्ना गरिएको थियो । तर त्यहाँबाट उनलाई देहरादून को एमसीसी अस्पतालमा रेफर गरिएको थियो । तर उनलाई फेरि अर्को पटक पनि हृदयघात परेपछि मंगलवार उनको निधन भएको हो । हरिद्वारबाट 2 जना अन्य नेपालीहरुले मानवीय नाताले देहरादूनको अस्पतालमा पुर्याएपनि उनिहरुले अस्पतालको 95 हजारको बील तीर्न सकेका थिएनन् । अस्पतालले पैसा नतिरेसम्म शव नदिने भन्दै आएको थियो ।

त्यसपछि देहरादूनका युवा समाजसेवी टेकु थापा मगरले गोर्खा कल्याण परिषद् मार्फत उत्तराखण्ड सरकारसित सहयोग माग गरेपछि अस्पतालको बील तिरिएको थियो । टेकु थापा मगरका अनुसार मृतक जीतबहादुर घर्ती मगरको परिवार बागलुङमै बस्छ । जीतबहादुरका बुवा-आमा, पत्नी र 2 वटा छोरी रहेका छन । उनिहरुको आर्थिक अवस्था राम्रो छैन । टेकु थापा मगरले नेशनल लाईभलाई भने ” हाम्रो पहलमा उत्तराखण्ड सरकार शवलाई सुनौली सीमासम्म पुर्याउन तयार भएको थियो । तर जारी लकडाउन र पारिवारिक आर्थिक अवस्था राम्रो नभएका कारण सीमाबाट शवलाई बुझ्न नसक्ने भएकाले शवलाई त्यँही अन्त्येष्टी गर्न परिवारले आग्रह गरेपछि म लगायत समाजसेवी बूद्देश राई, राजु मल्ल, करन पुजारा, कपिल र तिलक बुढ़ाले अन्तिम संस्कार गरेका हौं । “

उहाँले अस्पतालको खर्चदेखि शमसान घाट सम्म शवलाई पुर्याउन सहयोग गरेकोमा गोर्खा कल्याण परिषद् अध्यक्ष टी डी भूटिया र राज्य सरकारप्रति आभार प्रकट गर्नुभयो ।









































