नयाँ दिल्ली डेस्क, 29 अप्रेल
वैश्विक महामारी कोरोना भाइरसबाट विश्वभरीमा अहिलेसम्म 2 लाख 18 हजार 795 जनाले ज्यान गुमाइसकेका छन्। यस भाइरसबाट संक्रमित हुनेहरूको संख्या 31 लाख 54 हजार 442 पुगेको छ भने, 9 लाख 65 हजार 397 जना उपचारपछि ठिक भएका छन्।
कोरोना भाइरसको कारण अमेरिकामा सबैभन्दा बढी 59 हजार 266 जनाको ज्यान गएको छ भने, संक्रमितको संख्या 10 लाख 35 हजार 765 पुगेको छ। अमेरिकापछि इटाली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको छ। त्यहाँ अहिलेसम्म 27 हजार 359 जनाको ज्यान गएको छ भने, 2 लाख 1 हजार 505 जनामा संक्रमणको पुष्टि भएको छ। त्यसैगरी स्पेनमा अहिलेसम्म 23 हजार 822 जनाले ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या इटालीभन्दा बढी 2 लाख 32 हजार 128 पुगेको छ। त्यसैगरी फ्रान्समा अहिलेसम्म 23 हजार 660 जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन्। त्यहाँ संक्रमितहरूको संख्या 1 लाख 65 हजार 911 पुगेको छ।
चीनमा कोरोना संक्रमितहरूको संख्या 82 हजार 858 पुगेको छ भने, 4 हजार 633 जनाले ज्यान गुमाएका छन्, भने अहिलेसम्म 77 हजार 578 जना उपचारपछि सन्चो भएर घर फर्किएका छन्। 647 जनाको उपचार चलिरहेको छ।
भारतमा पनि कोरोना भाइरसको प्रकोप दिनप्रति दिन बढिरहेको छ। भारतमा अहिलेसम्म 31 हजार 332 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी ज्यान गुमाउनेको संख्या बढेर 1 हजार 8 पुगेको छ। 7 हजार 747 जना उपचारपछि सञ्चो भएका छन्।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या बढेर 57 पुगेको छ। 16 जना उपचारपछि पूर्ण रूपमा स्वस्थ्य भएर घर फर्किएका छन्।









































