काठमाण्डौँ, 29 अप्रेल
कतार र यूएईले कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन्। कतारबाट नेपाललाई सहयोग स्वरुप 20 टन स्वास्थ्य सामग्री प्राप्त भएको छ। बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि कतारका राजदुत यूसूफ बिन मोहमद अल–हेलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो। कतारले पीपीई सेट, पीसीआर टेस्ट किट, एन 95 मास्क, भीटीएस, सीआरआरटी मेसीन, सर्जिकल मास्क, सर्जिकल ग्लोब्स र सेनिटाइजर लगायत 14 प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठले बताउनुभयो।
बुधबार नै यूएईले पनि नेपाल सरकारलाई कारोना भाइरस संक्रमणका बिरामीलाई उपचार गर्न प्रयोग गरिने स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ। यूएईले करिब 9 टन स्वास्थ्य सामग्री नेपालाई उपलब्ध गराएको हो। यूएईबाट इतिहादको वाइडबडी विमान चार्टर गरी उक्त सामग्री नेपाल आइपुगेको हो।









































