काठमाण्डौँ, 3 मे 2020
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेनले सरकारलाई विभिन्न स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको छ। सेभ द चिल्ड्रेनले आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुक्त ढकाललाई पीपीई लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। सेभ द चिल्ड्रेनले 1 हजार 743 थान पीपीई सहित एन 95 मास्क लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराएको हो। स्वास्थ्य सामग्रीहरु मध्ये 343 थान पीपीई प्रदेश नम्बर 2 को लागि र 2 सय थान कर्णाली प्रदेशको लागि उपलब्ध गराइदिन सेभ द चिल्ड्रेनले मन्त्रालयलाई आग्रह समेत गरेको छ। बाँकी 1 हजार 200 थान पीपीई र अन्य स्वास्थ्य सामग्री भने मन्त्रालयले आवश्यकताका आधारमा कोरोनाको उपचार हुने स्वास्थ्य संस्थामा उपलब्ध गराउन सक्ने छ।
स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले बजारमा अभाव भएको सामग्री खोजेर मन्त्रालयलाई उपलब्ध गराएको र यसले कोरोना भाइरस महामारी विरुद्ध विजय प्राप्त गर्न आत्मबल बढाएको बताउनुभयो। उहाँले उपलब्ध स्वास्थ्य सामग्रीको पारदर्शी वितरण हुने र तोकिएको ठाउँमा छिट्टै उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
कोरोना भाइरसको महामारी विरुद्धको लडाईमा थोरै भएपनि सहयोग होस् भन्ने उद्देश्यले सरकारलाई स्वास्थ्य सामग्री उपलब्ध गराईएको सेभ द चिल्ड्रेनकी कार्यबाहक नेपाल प्रमुख बन्दना रिसालले बताउनुभयो। नेपालमा सेभ द चिल्ड्रेनले विगत 40 वर्ष देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ।









































