काठमाण्डौँ, 3 मे 2020
आईतबार एकै दिन नेपालमा 10 जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार नेपालगञ्जमा 9 र पर्सामा 1 गरी 10 जनामा कोरोना पोजेटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर 3 मा 36 वर्षिय पुरुष तथा नेपालगञ्जका 5 पुरुष तथा 4 जना महिलामा संक्रमण पोजेटिभ देखिएको हो। उनीहरु 7 वर्षदेखि 58 वर्ष उमेर समूहका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या 69 पुगेको छ। संक्रमित सबैको स्थास्थ्य अवस्था सामान्य रहेको छ। अहिले विराटनगरमा 31 र वीरगञ्जमा 9 जना उपचाररत रहेका छन्। नेपालगञ्जमा आईतबार संक्रमण देखिएका 9 सहित 10 जनाको उपचार भइरहेको छ। यसैगरी रुपन्देही, धनगढी र भरतपुरमा 1/1 जना उपचाररत रहेका छन्। 16 जना उपचारपछि निको भएर घर फर्किएका छन्। उपत्यकामा 4 र बाहिर 73 गरी 77 जना सम्भावित संक्रमित आइसोलेसनमा रहेका छन्।
आइतबारसम्म 13 हजार 414 पीसीआर र 49 हजार 688 वटा आरडीटी परीक्षण भएका छन्। पछिल्लो 24 घण्टामा 1 हजार 4 सय 79 वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।
प्रदेश नम्बर 1 मा 5 हजार 499, प्रदेश नम्बर 2 मा 5 हजार 709 र बागमती प्रदेशमा 8 हजार 115 जनाको आरडीटी परीक्षण भएको छ। यसैगरी गण्डकी प्रदेशमा 5 हजार 834, प्रदेश नम्बर 5 मा 4 हजार 492, कर्णाली प्रदेशमा 5 हजार 567 र सुदूरपश्चिम प्रदेशमा 14 हजार 72 जनाको आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।
अहिले देशभरीका क्वारेन्टाइनमा 21 हजार 9 सय 51 जना रहेका छन्। प्रदेश नम्बर 1 मा 2 हजार 618, प्रदेश नम्बर 5 मा 1 हजार 337, बागमती प्रदेशमा 4 सय 40 जना क्वारेन्टाइनमा रहेका छन्। यस्तै गण्डकी प्रदेशमा 626, प्रदेश नम्बर 5 मा 10 हजार 667, कर्णाली प्रदेशमा 3 हजार 78 र सुदूरपश्चिम प्रदेशमा 3 हजार 185 जना क्वारेन्टाइनमा रहेका छन्।









































