बाँके, 13 मई 2020/ हिम शाह
भारतले लकडाउन खुकुलो गर्दै फर्किन चाहनेहरूका लागि रेल सेवासमेत सञ्चालनमा ल्याएपछि नेपालीहरू बाँकेका विभिन्न नाका हुँदै फर्किन थालेका छन्। त्यसक्रममा मंगलबार मात्रै डुडुवा नाकाबाट 29 जना नेपाली फर्किएका छन्। उनीहरु वडा नं. 3 हलबलडोलीका नेपाली हुन्। भारतका विभिन्न ठाउँमा मजदुरीका लागि गएका उनिहरु सीमानामा पुगेपछि आफन्तहरू पुगेर ल्याएका थिए। उनीहरुलाई वडा नं. 3 स्थित श्रीमावि डुडुवामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको डुडुवा गाउँपालिका नेकपा अध्यक्ष सकिल खानले जानकारी दिएका छन्।
त्यस्तै, नरैनापुर गाउँपालिकासँग जोडिएको भारतीय नाकाबाट ठूलो संख्यामा नेपालीहरु फर्किएका छन्। नरैनापुर-4 का उनिहरु मुम्बई, कानपुर र दिल्लीबाट फर्किएका हुन्। उनिहरुलाई पनि स्थानीय क्वारेन्टिनमा राख्न लागिएको बताइएको छ। मंगलबार सयौंको संख्यामा भित्रिएका नेपालीलाई स्थानीय विद्यालयमा क्वारेन्टिन गरेर राख्ने काम भैरहेको र भारतबाट नेपाली आउने क्रम जारी रहेको हाम्रा संवाददाता हिम शाहले बताउनुभयो।
भारतको नानपारा र बहराइचका क्वारेन्टिन रहेका 5 सय बढी नेपालीलाई फर्काउन भारतीय अधिकारीहरुले बाँके प्रशासनसँग औपचारिक रूपमै पहल गरिरहेको छ। ‘हामी नेपालीलाई कसरी ल्याउने भन्ने केन्द्रको निर्णय पर्खिरहेका छौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो।









































