काठमाण्डौँ, 16 मई 2020
धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु कोरोना भाइरसका कारण भए/नभएको विषयमा परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ। 24 गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी 29 वर्षिया महिलाको धुलिखेल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको मन्त्रालयले जनाएको छ। 25 गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी ती महिलामा ज्वरो र स्वासप्रस्वासको लक्षण देखिएपछि स्थानीय अस्पतालमा उपचार सुरु गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले बताउनुभयो। ती महिलाको अवस्था जटिल हुँदै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको उहाँले बताउनुभयो। प्रवक्ता देवकाटाले ती महिलाको कोरोनासँग सम्बन्धित परीक्षण भइरहेको र रिपोर्ट आएपछि मात्रै आधिकारिक रुपमा मृत्युको कारण भन्न सकिने उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘विस्तृत विवरण लिइरहेका छौँ। कोरोनासँग सम्बन्धित थप परीक्षण भइरहेका छन्। रिपोर्ट आएपछि कोरोनाका कारण मृत्यु भएको हो/होइन भन्ने कुरा निक्र्यौल गरेर आधिकारिक रुपमा जानकारी दिनेछौँ।’’ ती महिला सिन्धुपाल्चोकका स्थानीय हुन्।
शनिबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या 278 पुगेको छ। शनिबार महोत्तरीका 52 वर्षिय पुरुष र काभ्रेका 26 वर्षिय पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।
शनिबार नै कपिलवस्तुका 3 जनामा संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटाका 25, 34 र 44 वर्षिय पुरुषमा संक्रमण देखिएको हो। यस्तै शनिबार नै भएको परीक्षणमा बर्दियाको नार्खुका 28 वर्षिया महिला, सिराहा सखुवाका 30 वर्षिय पुरुष, पर्साको विरगञ्जका 28 र 29 वर्षिय पुरुष, सर्लाही रामनगरका 18 वर्षिया किशोरी र चितवनको गढौलीका 25 वर्षिय पुरुषमा संक्रमण देखिएको छ।
अहिलेसम्म प्रदेश नम्बर 2 र 5 मा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। दुवै प्रदेशमा गरी 218 जनामा संक्रमण देखिएको छ। यस्तै प्रदेश नम्बर 1 मा 36 र बागमती प्रदेशमा 16 जनामा संक्रमण देखिएको छ। यसैगरी गण्डकी प्रदेशमा 3 र सुदूरपश्चिममा 5 जनामा संक्रमण देखिएको छ। अहिलेसम्म 36 जना उपचारपछि घर फर्किएका छन्।
गत 24 घण्टामा 5 हजार 243 जनाको नमुना परीक्षण भएको छ। जसमा पीसीआर विधिबाट 2 हजार 579 वटा परीक्षण भएका छन्। आरडीटी विधिबाट 2 हजार 664 वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। अहिलेसम्म पीसीआर विधिबाट 26 हजार 6 सय 91 र आरडीटी विधिबाट 65 हजार 749 वटा परीक्षण भएका छन्। शनिबारसम्म कुल 92 हजार 440 जनाको परीक्षण भएको उहाँले बताउनुभयो। प्रदेश नम्बर 1 मा 9 हजार 111, प्रदेश नम्बर 2 मा 5 हजार 987, बागमती प्रदेशमा 10 हजार 452 र गण्डकी प्रदेशमा 6 हजार 932 जनाको परीक्षण भएको छ। यस्तै प्रदेश नम्बर 5 मा 8 हजार 490, कर्णाली प्रदेशमा 7 हजार 372 र सूदुरपश्चिम प्रदेशमा 17 हजार 405 जनाको आरडीटी परीक्षण भएको छ। अहिले देशभरीका क्वारेन्टिनमा 16 हजार 366 जना रहेका छन्। उपत्यकामा 32 सहित देशभरीका विभिन्न अस्पतालमा 320 जना उपचाररत रहेका छन्।









































