नयाँ दिल्ली, 16 मई 2020
भारतका विभिन्न क्षेत्रमा करिब 2 महिनादेखि क्वारेन्टीन रहेर समस्या झेलीरहेका करिब 800 नेपालीहरूलाई नेपाल फिर्ता पठाइएको छ। नेपाल सरकार र भारतस्थित नेपाली दूतावास, भारतमा रहेका नेपालीहरूका बारेमा मौन रहेका बेला युवा नेता सन्दीप राना र अखिल भारत नेपाली एकता मञ्चका सचिव आर.बी. खड्काको पहलमा भारतका विभिन्न क्षेत्रमा करिब 2 महिनाको क्वारेन्टीन रहेका नेपालीहरुलाई स्वदेश फिर्ता पठाइएको हो।

उत्तर प्रदेशको रामपुरदेखि गौरीफण्टासम्म विभिन्न क्वारेन्टिनमा रहेका करिब 800 जनालाई हिजो र आज नेपाल फिर्ता पठाइएको हो। उनिहरुको सूचि तयार गरिएपछि जोगबनी, सुनौली, नौतुनवा र गौरीफण्टा लगायतका नाकाबाट नेपाल पठाइएको हो।

भारतमा जारी लकडाउन र नेपालको सीमा बन्द भएकाले उनिहरु 2 महिनादेखि क्वारेन्टीन बस्न बाध्य भएका थिए। क्वारेन्टीन अवधि पूरा गरेपछि पनि सेवा सुविधा बिना शिविरमै बस्नु परेकाले युवा नेताहरु सन्दीप राना र आर.बी. खड्काले उनिहरुको गृह जिल्ला, नगरपालिका र वडामा सर्वदलीय बैठकद्वारा सहमति गराएर नेपाल फर्काउने वातावरण बनाएका हुन्। घर फर्किन पाएका उनिहरुले करिब 2 महिनाको क्वारेन्टीनपछि नेपाल फिर्ता हुन पाएकोमा खुशी व्यक्त गर्दै सहयोगी सबैप्रति आभार व्यक्त गरेका छन्।

नेशनल लाईभसँग कुरा गर्दै आर.बी. खड्काले भन्नुभयो, “उनिहरुलाई नेपाल फर्काउन लामो समयदेखि प्रयास गरिरहेका थियौँ, अन्ततः उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उनिहरु रहेको जिल्लामा डी.एम., एस.पी. र एडी.एम.-को सहयोग र प्रदेश नम्बर 5, 6 र 7 का जिल्ला प्रतिनिधि, स्थानिय प्रतिनिधि अनि सर्वदलीय प्रयासले नेपाल फर्काउन सफल भयौँ।” उनिहरुलाई नेपाल पुगेपछि स्वास्थ्य परीक्षणपछि क्वारेन्टीनमा बस्नु पर्ने भनिएको खड्काले बताउनुभयो।
खड्काले बताए अनुसार, उत्तर प्रदेशको रामपुरदेखि गौरीफण्टासम्म विभिन्न क्वारेन्टीनमा रहेकाहरुलाई सुरक्षित सीमासम्म पुग्न रामपुरका डी.एम. आंजनेय कुमार सिंह, खीमपुर खीरीका डी.एम. शैलेन्द्र कुमार सिंह र एस.पी. पूनमले ठूलो सहयोग गरेका छन्। त्यसैगरि प्रवासी नेपाली संघ भारतका संयोजक लोकनाथ भण्डारी, सह-संयोजक इश्वरी भण्डारी, जे.एन.यू. स्कोलर अम्बिका जोशी, विद्यार्थी नेता सुधन महत, समाजसेवी दीपक जी.सी.-ले पनि सहयोग गरेको बताउनु भएको छ।

प्रदेश सरकार र दिल्लीस्थित दूतावासलाई जानकारी हुनेगरि नेपालीहरुलाई फिर्ता पठाइएको खड्काले बताउनुभएको छ। भारतमा समस्यामा परेका नेपालीहरुलाई फिर्ता लग्नेबारे संघीय स्तरमा कुनै निर्णय नभएको र प्रदेश सरकारले पनि खाशै चासो नदिएका बेला स्थानिय जनप्रतिनिधिहरुको समन्वयमा उनिहरुलाई फिर्ता लग्ने काम भइरहेको छ। त्यसका लागि भारतमा रहेका विभिन्न संगठनहरुले निरन्तर दवाव दिइरहेका छन्। दिल्ली एन.सी.आर.-मा विभिन्न क्वारेन्टीनमा बसेका नेपालीहरुलाई स्थानिय प्रशासनसँग समन्वय गरि नेपाल फिर्ता पठाउने तयारीहरु भइरहेको पनि खड्काले बताउनु भएको छ।
यसअघि युवा नेता सन्दीप राना र आर.बी. खड्काको पहलमा आनन्द बिहारमा फसेका सयौँ नेपालीहरुलाई पनि नेपाल पठाउने काम भएको थियो।









































