काठमाण्डौँ, 21 मई 2020
रूपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्रिमसन अस्पतालको भेन्टिलेटरसहितको सघन उपचार कक्षमा उपचाररत गुल्मीका 41 वर्षिय पुरुषको निधन भएको हो। मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमण पोजेटिभ देखिएका ती पुरुषको बिहीबार निधन भएको बताउनुभयो। यसअघि सिन्धुपाल्चोककी 29 वर्षिया महिला र बाँकेका 25 वर्षिय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।
प्रवक्ता देवकोटाका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या 453 पुगेको छ। बिहीबार थप 9 जनामा संक्रमण पोजेटिभ देखिएसँगै संक्रमितको संख्या 453 पुगेको हो। रुपन्देहीका 27 वर्षिय पुरुष र झापाका 17, 18 वर्षका दुइ जना, 20 वर्षका दुइ जना, 23, 52 र 55 वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको हो।
बिहीबार टेकुमा उपचाररत 4 जना निको भएर घर फर्किएका छन्। प्रवक्ता देवकोटाका अनुसार 23 र 25 वर्षिया महिला तथा 27 र 37 वर्षिय पुरुष 9 औँ दिनमा डिस्चार्ज भएका हुन्। यो सँगै नेपालमा उपचारपछि निको भएर घर फर्किने संक्रमितको संख्या 49 पुगेको छ।
पछिल्लो 24 घण्टामा पीसीआर विधिबाट मात्रै 3 हजार 114 जनाको नमुना परीक्षण भएको छ। यस्तै आरडीटी विधिबाट 3 हजार 623 जनाको परीक्षण भएको छ। अहिलेसम्म पीसीआर विधिबाट 38 हजार 736 जनाको नमुना परीक्षण गरिएको छ। आरडीटी विधिबाट ७८ हजार 695 जनाको नमुना परीक्षण गरिएको छ।
प्रदेश नम्बर 1 मा 9 हजार 837, प्रदेश नम्बर 2 मा 6 हजार 279, बागमती प्रदेशमा 17 हजार 449 जनाको आरडीटी परीक्षण भएको छ। यस्तै गण्डकी प्रदेशमा 7 हजार 18, प्रदेश नम्बर 5 मा 10 हजार 562, कर्णाली प्रदेशमा 7 हजार 665 र सुदूरपश्चिम प्रदेशमा 19 हजार 485 वटा आरडीटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। अहिले देशभरीका क्वारेन्टाइनमा 25 हजार 30 जना रहेका छन्।









































