काठमाण्डौँ, 21 मई 2020
खुला सीमानाका कारण भारतबाट दिनदिनै हजारौँ नागरिक नेपाल भित्रिदा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको छ। नेपालमा कोरोना संक्रमणको जोमिख बढिरहेका बेला खुला सीमानाका कारण भारतबाट हजारौँ मानिस नेपाल भित्रिदा व्यवस्थापनमा समस्या देखिएको हो। स्थानीय तहहरुले निश्चित क्वारेन्टाइन व्यवस्थापन गरेपनि ठूलो संख्यामा नेपाली भित्रिने क्रम नरोकिएपछि व्यवस्थापनमा समस्या देखिएको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बताउनुभयो। नेपालमा रहेका भारतीय नागरिकलाई नेपालमै र भारतमा रहेका नेपाली नागरिकलाई भारतीय क्वारेन्टाइनमै व्यवस्थापन गर्ने समझदारी बनेपनि त्यसो हुन नसक्दा चुनौती थपिएको उहाँले बताउनुभयो।
शहरी विकास मन्त्रालयमा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन मापदण्डका विषयमा भएको छलफलमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले होटल तथा रिसोर्टहरुलाई क्वारेन्टाइनका रुपमा व्यवस्थापन गर्न सकिने बताउनुभयो। प्रधानमन्त्रीलाई वैशाख 7 गते नै उक्त सुझाव बुझाइएको उल्लेख गर्दै उहाँले विदेशबाट आउने नागरिकहरुको उचित व्यवस्थापन गर्न होटलहरुलाई क्वारेन्टाइनका रुपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। खालि रहेका होटलहरुलाई निश्चित रकम तिरेर भएपनि जीवनरक्षाका लागि प्रयोग गर्न सकिने उहाँले बताउनुभयो।
गृहमन्त्रालयका उपसचिव गोमादेवी चेमजोङले होटल तथा लजहरुलाई पहिलो प्राथमिकतामा राखेर क्वारेन्टाइन निर्माण गर्नुपर्ने बताउनुभयो। होस्टेल, सामुदायिक भवन र तालिम केन्द्रहरुलाई पनि क्वारेन्टाइनका रुपमा विकास गर्न सके सहज हुने उहाँले बताउनुभयो। निश्चित रकम तिरेर भएपनि क्वारेन्टाइनमा बस्छु भन्ने र पैसा तिर्न नसक्ने सम्भावित संक्रमितहरुलाई वर्गिकरण गरेर अगाडी बढ्नुपर्ने सुझाव उहाँले दिनुभयो। अवस्था भयावह भए क्वारेन्टाइन निर्माणका लागि खुला मैदानको पहिचान गरी अन्तरमन्त्रालय समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले धेरै ठाउँमा खानेपानीको समस्या रहेको बताउनुभयो। उपत्यका बाहिरका अधिकांश क्वारेन्टाइनहरुमा सञ्चार सुविका व्यवस्थापन नहुदा मान्छेहरु डराउने, एक्लोपन महसुस गर्ने समस्या देखिएको र भाग्ने गरेका घटना देखिने गरेको उहाँले बताउनुभयो। उहाँले बजेट व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि पनि आग्रह गर्नुभयो।
विदेशबाट आउन चाहाने नागरिकहरुको तथ्याङ्क परराष्ट्र मन्त्रालयले तयार गर्नुपर्ने सुझाव पनि बैठकमा सहभागिहरुले दिएका छन्। स्थानीय तहहरुले आफ्नो क्षेत्रभित्रका व्यक्तिहरुको तथ्याङ्क एकिन गरेर क्वारेन्टाइनलाई व्यवस्थापन गर्नुपर्ने सुझाव सहभागिहरुको छ।









































