काठमाण्डौ, 26 मई 2020
गृहमन्त्री रामबहादुर थापाले रुकुमको जातिय हिंसामा संलग्न भनिएका वडा अध्यक्ष लगायत १२ जना प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा रुकुम पश्चिममा भएको जातिय हिंसाको घटनामा युवती सहित उनका बुबा, आमा , वडा अध्यक्ष डम्बर बहादुर मल्ल, घटनामा प्रत्यक्ष संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्ल सहित १२ जनालाई प्रारम्भीक अनुसन्धान र सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिनुभएको हो । किटानी जाहेरी नआएको भन्दै घटनामा संलग्न वडा अध्यक्षलाई छोडिएको भन्ने सांसदहरुको प्रश्नमा उहाँले अहिले सम्म वडा अध्यक्ष प्रहरी हिरासतमा नै रहेको स्पष्ट पार्नुभयो । उहाँले घटनाको सत्य तथ्य छानविन गरि राय सहितको प्रतिवेदन पेस गर्नका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरिएको तथा समितिलाई दुई हप्ता भित्र छानविन गरेर प्रतिवेदन दिन निर्देशन दिएको पनि सदनलाई जानकारी गराउनुभयो । उहाँले छानविनपछि प्रतिवेदनका आधारमा दोषीलाई कडा कारवाही गरिने तथा पीडीतलाई क्षतिपुर्ति उपलब्ध गराउने बारेमा राज्यले सोच्ने स्पष्ट पार्नुभयो । उहाँले घटनाको छानविनमा राज्यको तर्फबाट कुनै पनि राजनीतिकरण नहुने प्रतिवद्धता पनि जनाउनुभयो । उहाँले घटनाका सम्बन्धमा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारवाही गरि कानुनी राज्यको स्थापना गर्नै प्रतिवद्धता पनि जनाउनुभयो । समाजमा अन्तरनिहित चिन्तन अन्त्य संगै जातिय उत्पीडन पनि अन्त्य हुने भन्दै उहाँले निम्न बर्गमाथि हुने श्रृंखलावद्ध उत्पीडनको अन्त्यका लागि कानुन कार्यान्वयनलाई प्रभावकारी बनाईने बताउनुभयो । गृहमन्त्रीले घटनाबारे जानकारी गराएपछि सांसदहरुले प्रतिप्रश्न गरेका थिए ।









































