नयाँ दिल्ली, 2 जुन 2020
भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतले नेपालसँग सम्बन्ध बिग्रन नदिने भन्नु भएको छ । भारतीय संचार माध्यम जी न्यूजको एक अन्तरवार्तामा मन्त्री सिंहले पछिल्लो समय नेपाल भारतबिच सम्बन्धमा चिसोपना आएको भएपनि भारतले नेपालसँगको समस्या संवादबाट समाधान गर्ने बताउनुभएको हो ।
मन्त्री सिंहले भारत र नेपालको सदियौंदेखी भावनात्मक सम्बन्ध रहेको भन्दै भारतले त्यो सम्बन्ध टुट्न नदिने बताउनुभयो । पत्रकारले नेपाललाई चीनले उक्साएको होइन भन्ने प्रश्नमा भने उहाँले कारण जे सुकै भएपनि सम्बन्ध नबिग्रने बताउनु भयो । नेपाल भारतबिचको तनाव वार्ता र संवादबाट समाधान गरिनुपर्छ भन्ने भारतको उद्धेश्य भएको उहाँले बताउनु भयो । उहाँले नेपालमा केही मान्छेहरुले यताउताको कुरा गरे पनि आफुले व्यक्तिगत रुपमा पनि नेपालसँगको सम्बन्ध मजबुत गर्नुपर्छ भन्ने मानेको बताउनुभयो । उहाँले भारतले नेपाललाई आफ्नो भाई मानेको भन्दै नेपालसँगको सम्बन्ध मजबुत गर्न जे-जे गर्नुपर्छ भारतले गर्ने बताउनु भयो । चीनसँग अहिले बिग्रेको सम्बन्धमा भने भारतले देशमा जनताको टाउको झुक्न नदिने बताउनुभयो ।
लिपुलेकदेखी चीनलाई जोड्ने सडकको गत महिना 8 मईका दिन रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपाल-भारतबिच सम्बन्ध चिसिएको छ । नेपालले भारतले विवादित क्षेत्रमा एकलौटी रुपमा सडक बनाएको भन्दै विरोध गरेको थियो । त्यसपछि नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । यद्यपि सीमा विवाद समाधान गर्न कुटनैतिक तहमा वार्ता हुनुपर्ने नेपाल भारतले भन्दै आएका छन ।









































