सिरसा, 6 जुन 2020, खिमराज चालिसे
भारतको हरियाणा राज्यको सिरसा जिल्ला अन्तर्गत डबवाली रेलवे स्टेशनमा एक नेपाली किशोर अलपत्र अवस्थामा भेटिएका छन । किरण प्रसाद दाहाल नामक किशोर रेलकै यात्राका क्रममा लखनउ रेलवे स्टेशनदेखि आफन्तसँग छुट्टिएर करिब 4 दिनदेखि अघि हरियाणाको डबवाली रेल स्टेशन पुगेका हुन् । अन्दाजी 18 वर्षको देखिने किरणलाई हराएको अवस्थामा सरकारी रेलवे पुलिस जीआरपीले आफुसँग राखेको थियो । किशोरको बारेमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसारका कार्यकर्ताले जानकारी पाएपछि हरियाणा सिरसा बाल संरक्षण विभागमा राखेको छ । उनको बारेमा जानकारी पाएपछि नेपालीका लागि काम गर्ने सक्रीय संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले किशोरको आफन्त खोज्ने प्रयास थालेको छ । समाजका पदाधिकारीले उनलाई राखिएको बाल संरक्षण विभागमा गएर उनको परिवारको बारेमा सोधखबर गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य त्रिभुवन भट्टराईका अनुसार अलपत्र परेका किशोर किरण प्रसाद दाहाल अलि मानसिक रुपमा कमजोर जस्तो देखिन्छन । आफ्नो स्थायी घर झापा जिल्लाको शान्तीनगर–४ गुलाबवस्ती बताउने किशोरले आफ्नो बुवाको नाम विष्णु प्रसाद दाहाल बताएका छन । सोधपुछका क्रममा उनका बुबा विष्णु प्रसाद दाहाल दिल्लीको बसन्त बिहारमा कुनै कम्पनीमा सिक्योरिटी गार्डमा काम गर्ने गरेको थाहा भएको छ । फोटोमा देखिने किरणप्रसाद दाहाललाई चिन्नु भएको छ भने मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका कार्यकर्ताहरुलाई सम्पर्क गर्न मूलप्रवाहले आग्रह गरेको छ।
सम्पर्कको लागि मूल प्रवाहका केन्द्रीय सदस्य त्रिभुबन भट्टराईको मोबाइल नं ९१–९४१४९४८७९० र ८१०७४८१३७४, गोपाल सोनी ९८१२७३९८३३, अजित वुढामगर ७४०४०६२०९ र रवि सोनी ९८९६९४१८८२ नम्बर दिइएको छ ।









































