नयाँ दिल्ली, 12 जुन 2020
राष्ट्रीय स्वयम सेवक संघ RSS का राष्ट्रीय कार्यकारिणी सदस्य एंव नेपाली संस्कृति परिषद्का संरक्षक ईन्द्रेश कुमारले नेपाल-भारतबिच अहिले बढेको तनाव हुन नहुने बताउनुभएको छ । शुक्रवार नेपाली संस्कृति परिषद्का सदस्यहरुलाई सामाजिक संजालबाट सम्बोधन गर्दै उहाँले भारत र नेपाल दुई अलग-अलग देश भएपनि साँस्कृतिक रुपमा दुवै देश एकै भएको बताउनुभयो । उहाँले भन्नुभयो ” साँस्कृतिक रुपमा हामी एकै थियौं, एकै हौं र एकै रहनेछौं । हाम्रो नागरिकता, देश, झण्डा अलग अलग छ तर हाम्रा सुख-दुःख समान छन ।”
उहाँले सदियौंदेखिको सम्बन्ध कसैको उक्साहटमा बिग्रन नहुनेमा जोड दिनुभयो । उहाँले नेपालका पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउबा र सूर्यबहादुर थापासँग भएको संवादमा हिन्द महासागरदेखि उत्तर हिमालयसम्म र हिमालयदेखि दक्षिण हिन्द महासागरसम्म भारत वर्ष भएको भन्ने कुरा गरेको भन्दै अहिले अलग भएर पनि दुबै देश सांस्कृतिक रुपमा एक भएको बताउनुभयो । हामीले बुद्धको जन्म र उहाँले बुद्धत्व भारतमा प्राप्त गरेको भन्ने पढेको भएपनि अहिलेको भौगोलिक अवस्थाका कारण बुद्धको जन्म नेपालमा भएको भन्नुभयो ।
त्यसैगरि सिता माताको जन्म राजा जनकको राज्य अहिलेको सितामढीमा भएको र त्यसपछि जनकपुरस्थित महलमा उहाँको पालनपोषण भएको भन्नुभयो ।









































