नयाँ दिल्ली, 17 जुन 2020
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कमजोर नठान्न भन्दै चीनलाई चेतावनी दिनुभएको छ । भारत चीन सीमामा भएको हिंसक झडपपछि मोदीले चीनलाई चेतावनी दिँदै आफ्नो मुलुकले शान्ति चाहने भएपनि कसैले उक्साए उचित जवाफ दिन सक्षम रहेको बताउनुभयो । भारतको नवगठीत केन्द्र शासित प्रदेश लद्दाखस्थित चीनसँगको नियन्त्रण रेखामा चिनियाँ सेनासँगको झडपमा भारतका वीर सपुतले मातृभूमिको रक्षाका लागि सर्वोच्च बलिदान दिएको भन्नूभयो । उहाँले जुनसुकै स्थितिमा पनि भारत देशको एक-एक इन्च सीमाको रक्षा गर्ने बताउनुभयो । मोदीले सैनिकहरुको बलिदान खेर नजाने बताउनुभएको हो। मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै मोदीले आफ्ना सैनिक मार्दा मार्दै मरेको बताउनुभयो । उहाँले देशवासीलाई आश्वासन दिँदै जवानहरुको बलिदान खेर नजाने भन्नुभयो । यसअघि भारतको विदेश मन्त्रालयले एक बयान जारी गर्दै 15 जुनको राति र गएराति गरि लद्दाखको गलवान घाटीमा 2 पटक चीनको सेनासँग भारतीय सेनाको झडप भएको र त्यसमा 20 सैनिकको ज्यान गएको बताएको थियो । यद्धपी भारत र चीनको उच्च स्तरमा सीमाको विषयमा सहमति भएपनि सैनिक स्तरमा पालना नहुँदा हिंसक झडप भएको बताएको थियो ।









































