नयाँ दिल्ली, 23 जुन 2020
पुरै विश्व कोरोनाविरुद्धको औषधी तयार गर्न लागि परेका बेला पतंजली आयुर्वेदले भने यसको औषधी आज सार्वजनिक गरेको छ । कोरोनिल नामक यो औषधी एक हप्ताभित्रमा पतंजलीका सबै स्टोरहरुमा उपलब्ध हुने भनिएको छ । आज पतंजली योगपीठ हरिद्वारमा एक कार्यक्रम आयोजना गरि बाबा रामदेव र उनका सहयोगी आचार्य बालकृष्णले यो कोरोनाको औषधी सार्वजनिक गर्नुभएको हो ।

समारोहमा बोल्दै बाबा रामदेवले यो औषधीको चिकित्सा नियन्त्रण अध्ययन र चिकित्सा नियन्त्रण परीक्षण गरि 2 पटक परीक्षण गरिएको बताउनुभएको छ । उहाँले पहिलो चरणमा दिल्लीलगायत कयौं शहरहरुमा 280 जनामा चिकित्सा नियन्त्रण अध्ययन गरिएको र त्यसमा कसैको मृत्यु नभएको र शत प्रतिशत संक्रमितहरु निको भएको बताउनुभयो । त्यसपछि दोस्रो चरणमा चिकित्सा नियन्त्रण परीक्षण गरिएको र त्यसमा 3 दिनभित्र 69 प्रतिशत रोगीहरु निको भएको र 7 दिनभित्र शतप्रतिशत संक्रमितहरु निको भएको बाबा रामदेवले बताउनुभयो ।

उहाँले अहिले पनि कयौं मानिसहरुले औषधी बनाएको दावीमाथि प्रश्न गरेपनि आफुहरुसँग हरेक प्रश्नको जवाफ भएको बताउनुभयो । बाबा रामदेवले आफुहरुले समग्र वैज्ञानिक नियमहरुको पालना गरेको बताउँदै यो औषधी मुलैठी-काढासहित गिलोय, अश्वगंधा, तुलसी, श्वासरि लगायतको जडीबुटीको प्रयोग गरि बनाइएको बताउनुभयो ।









































