चेन्नई, 11 जुलाई 2020
तमीलनाडु राज्यको चेन्नईमा कोरोना संक्रमणका कारण थप एक नेपालीको मृत्यु भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका वाड नं २, देवीस्थानका स्थायी वासिन्दा 59 वर्षीया शालीकराम भन्डारीको मृत्यु कोरोना संक्रमणका कारण भएको हो । गत 8 जुलाईका दिन निधन भएका भण्डारीको शनिबार चेन्नईको कैलाशपुरममा अन्तिम संस्कार गरिएको छ । भण्डारीको गत 8 जुलाईका दिन आफ्नै कोठामा हृदयघातका कारण भएको भनिए पनि पछि उनको रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो।
मृतक शालीकराम भन्डारी चेन्नईमा भारतीय डाक कार्यालयमा सेवारत हुनुहुन्थ्यो । घरमा बोल्न, सुन्न र पढ्न नसक्ने छोरीबाहेक कोही नभएकाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नै खर्चमा अन्तिम संस्कार गरेको हो । कैलाशपुरमस्थित समसान घाटमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य एवं दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष महेन्द्र बस्याल र चेन्नई उत्तर नगर समितिका अध्यक्ष उमानन्द आचार्य, मृतक भण्डारीकी छोरी र अन्य जनाको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो ।
बस्यालले बताए अनुसार कोरोना पोजेटिभ भइ ज्यान गुमाएकाको अन्त्येष्टी सम्मको खर्च सरकारलेनै ब्योहोर्छ भन्ने हल्ला रहेको भएपनि त्यो सही नभएको बताउनुभयो । मृतक भण्डारीलाई अस्पतालबाट ल्याएर अन्तिम संस्कार गर्नेबेला सम्म 20 हजार जतिको खर्च आएको र त्यो खर्च मूल प्रवाहलेनै ब्योहोरेको उहाँले बताउनुभयो ।
तर कोरोनाले निधन भएका व्यक्ति सरकारी जागिरे भएकाले 10 लाख राहत रकम पाउन सक्ने सम्भावना रहेको बस्यालले बताउनुभयो ।
योसँगै कोरोना भाइरस संक्रमणका कारण दक्षिण भारतमा ज्यान गुमाउने नेपालीको संख्या 4 पुगेको छ । त्यस मध्ये चेन्नईमा एक जना बाग्लुङ र एक जना पर्वतका पुरुष रहेका छन भने एक जना काठमाण्डौकी महिलागरि 3 जनाको मृत्यु भएको छ भने कर्नाटक राज्यको बेङ्गलोरमा 1 जना पुरुषको मृत्यु भएको छ ।
त्यसैगरि चेन्नईमा अहिलेसम्म 39 जना कोभिड-19 बाट संक्रमित भएका छन भने बेङलोरमा 4 जना संक्रमित भएका छन ।









































