काठमाण्डौ, 13 जुलाई
सोमबार नेपालमा 1 सय 44 जना कोरोना भाइरसका नयाँ संक्रमित थपिँदा 1 हजार 7 सय 5 जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न 25 वटा प्रयोगशालामा भएका परीक्षणमा 1 सय 44 जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार 5 हजार 8 सय 46 वटा पीसीआर परीक्षणमा सो संख्यामा पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । प्रवक्ता डा. गौतमका अनुसार कोरोना संक्रमण मुक्त भएर निको हुनेको संख्या 10 हजार नाघेको छ । कुल संक्रमितको संख्या 16 हजार 9 सय 45 पुग्दा 10 हजार 2 सय 94 जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले प्रदेश नम्बर 1 मा 1 सय 83, प्रदेश नम्बर 2 मा 1 हजार 8 सय 72 र बागमती प्रदेशमा 4 सय 58 मा जना संक्रमित अहिले विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा 4 सय 98, प्रदेश नम्बर 5 मा 7 सय 29, कर्णाली प्रदेशमा 3 सय 61 र सुदूरपश्चिम प्रदेशमा 2 हजार 5 सय 12 जना संक्रमित उपचाररत रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट 38 जनाको मृत्यु भएको छ । प्रदेश नम्बर 2 मा 4 जना, बागमती प्रदेशमा 9 जना, गण्डकी प्रदेशमा 5 जना, प्रदेश नम्बर 5 मा 10 जना, कर्णाली प्रदेशमा 4 र सुदूरपश्चिम प्रदेशमा 6 जनाको कोरोनाका कारण मृत्यु भएको छ ।









































