नयाँ दिल्ली, 14 जुलाई 2020
दिल्लीमा नेपाली भाषीहरुको सबैभन्दा पुरानो संगठन नेपाली सम्मेलन दिल्लीले कोभिड-19 विश्वव्यापी महामारी र महानगरीमा अर्ध-लकडाउनको स्थितिलाई मध्येनजर राख्दै भर्चुअल भानु-जयन्ती मनाएको छ।
नेपाली सम्मेलन दिल्लीले विश्वभरिका नेपाली जातिलाई एउटा सम्पर्क भाषा नेपाली दिनुभएको आदिकवि भानुभक्त आचार्यको जन्म-जयन्ती हरेक वर्ष भव्य रूपमा मनाउँदै आएको छ। यो भर्चुअल भानु जयन्ती समारोहमा नेपाली सम्मेलन दिल्लीका सदस्यहरुलगायत अन्यहरुको भर्चुअल उपस्थिति रहेको थियो।
आफ्नो प्रारम्भिक टिप्पणीमा अध्यक्ष विष्णुबहादुर गुरुङले भानुभक्तलाई कुनै एक विशेष जाति वा धर्मको कविको रूपमा होईन अपितु नेपाली जाति र संस्कृतिधारकहरु सबैको साझा कवि र धरोहरको रूपमा प्रस्तुत गरिनुपर्ने भन्नुभयो।

भर्चुअल समारोहमा भानुको चित्रमा नेपाली सम्मेलन दिल्ली र समस्त नेपालीभाषीहरुको तर्फबाट श्रीमती शान्तिदेवी प्रधानको नेतृत्वमा उहाँकै निवासमा माल्यार्पण गरिएको थियो भने सम्मेलनका सक्रिय सदस्य श्रीगणेश अधिकारीद्वारा भानुभक्तरचित रामायणबाट विभिन्न छन्दमा लिखित श्लोकहरूको अत्यन्तै सुन्दर प्रस्तुति गरिएको थियो।


नेपाली सम्मेलन दिल्लीका साहित्यिक सांस्कृतिक सचिव जेके बराईलीले आदिकविको स्मृतिमा हार्मोनियममा श्रद्धाञ्जली गीत प्रस्तुत गर्नुभएको थियो। आजको समयमा भानुभक्तको औचित्यबारे सम्मेलनकी संयुक्त सचिव श्रीमती रंजना खवासले विशेष वक्तव्य राख्नुभएको थियो भने यस अवसरमा कविता-पाठको कार्यक्रम पनि राखिएको थियो।


कविता पाठ गर्नेहरुमा श्रीमती नैना बराईली, श्री गणेश अधिकारी, श्रीमती कल्पना शर्मा, सुश्री रोशनी प्रधान, सुश्री सागरिका चौधरी, श्री सुशान्त चौधरी र श्री विष्णुबहादुर गुरुड्ग हुनुहुन्थ्यो। सुश्री सागरिका चौधरीको सुन्दर नेपाली लोकनृत्यको आनन्द पनि उपस्थित सबैले भर्चुअल रूपमा उठाएका थिए।







भर्चुअल समारोहमा नेपाली सम्मेलन दिल्लीका पूर्व अध्यक्ष एवम सुपरिचित साहित्यकार श्री डम्बरमणि प्रधान पनि सिलीगुड़ी पश्चिम बंगालबाट जोडिनुभएको थियो। उहाँले नेपाली सम्मेलन दिल्लीद्वारा यो महामारीको समयमा भर्चुअल रूपमा भएपनि आदिकवि भानुभक्तलाई सम्झना गरिएकोमा खुसी वयक्त गर्दै नेपालीभाषी समुदायको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको थियो।


नेपाली सम्मेलन दिल्लीका पूर्व उपाध्यक्ष एवम वर्तमान कार्यकारिणी समिति सदस्य श्री महेन्द्रनाथ उपाध्यायद्वारा धन्यवाद ज्ञापनका साथै सन 2020 को यो भर्चुअल भानु जयन्ती समारोहको समापन भएको थियो।









































