काठमाण्डौ, 16 जुलाई
लगातार स्थगित हुँदै आएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भोलीलाई डाकिएको स्थायी समिति बैठक नरोक्ने पार्टीको शीर्ष नेतृत्वले सहमति गरेका छन । बिहीबार बालुवाटारमा भएको छलफलमा अध्यक्ष द्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालले अब बैठक स्थगित नगर्ने सहमति गर्नुभएको हो ।
पार्टी स्रोतले लगातार स्थगित हुँदै आएको स्थायी कमिटी भोलिबाट सञ्चालन गर्नेबारे नेताहरु सहमत भएको र अन्य विषयमा कुरा नभएको जानकारी दिएको छ । पार्टीभित्रको विवादका कारण गत असार 16 गतेदेखि स्थायी कमिटी लगातार स्थगित हुँदै आएको छ।
मदन जयन्तीको अवसरमा बालुवाटारमा असार 14 गते आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन भारतीय दूतावास सक्रिय भएको र नेपालकै नेताहरु लागिपरेको अभिव्यक्ति दिएपछि पार्टीभित्र प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा माग गरिएको छ । असार 16 गते बसेको बैठकमा ओलीले दुवै पद छोड्नुपर्ने स्थायी कमिटीका 17 नेताले माग गरेपछि बैठक बस्न सकेको छैन।
यसपछि दुई अध्यक्ष बीच भने कयौं वार्ता लगातार भएको छ । तर, सहमति जुट्न नसकेपछि 26 असार देखि एक साताका लागि बैठक स्थगित गरिएको थियो।









































