वाराणसी, 18 जुलाई 2020
प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिका कारण भारतमा रहेका नेपालीहरुमाथि अत्याचार हुन लागेको भन्ने समाचारहरु बाहिरिएपनि त्यसमा सत्यताको पुष्टी हुन सकेको छैन । बुधवार भारतको उत्तर प्रदेश राज्यको वाराणसीमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको विरोध गर्दै एक नेपालीको कपाल खौरिएर बलपूर्वक जय श्रीरामको नारा लगाउन लगाएको भन्ने घटनामा ती व्यक्ति नेपालीनै नभएको खुल्न आएको छ ।
वाराणसीका एसएसपी अमित पाठकले भिडीयोमा देखिएका कथित नेपाली युवक भारतीयनै भएको बताउनु भएको छ । उहाँले पुलिसले सो व्यक्तिलाई हिरासतमा लिएर गरेको सोधपुछमा कथित नेपाली युवकको नाम धर्मेन्द्र सिंह रहेको र उसले जम्मा 1 हजार रुपैयाको लालचमा सो काम गरेको स्वीकार गरेको बताउनुभयो । सोधपुछपछि पुलिस अब विश्व हिन्दू सेनाका संस्थापक र मुख्य आरोपी अरुण पाठकको खोजी गरिरहेको छ ।
सत्यता बाहिर आएपछि पुलिसले विश्व हिन्दू सेनाका संस्थापक अरुण पाठकसहित अज्ञात कार्यकताविरुद्ध मुद्धा दर्ता गरेको छ । पुलिसले अहिलेसम्म उत्तर प्रदेशका डीजीपी एचसी अवस्थीको आदेशपछि अहिलेसम्म सन्तोष पाण्डेय, राजू यादव, अमित दुबे र आशीष मिश्रा गरि 4 जनालाई पक्राउ गरिसकेको छ । अर्कोतर्फ मुख्य अभियुक्त अरुण पाठक भने अहिले पनि फरार रहेको छ ।
गत बुधवार विश्व हिन्दू सेनाले बनारसमा रहने एक नेपाली नागरिकको बलपूर्वक कपाल खौरिएर तालुमा जय श्रीराम लेखिएको थियो । त्यसपछि उसलाई नेपालका प्रधानमन्त्री मुर्दाबादको नारा पनि लगाउन लगाइएको थियो । सो घटना सामाजिक सञ्जालमा भाईरल भएपछि चौतर्फी निन्दा भएको थियो भने उत्तर प्रदेश पुलिसले मामिलालाई कडा रुपमा लिँदै कारवाही थालेको थियो ।









































