काठमाडौं, 6 जुलाई 2020
राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ। राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ। विहान ११ बजेबाट ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन। संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ । चारबजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा साढे ४ बजे अन्तिम नामावली प्रकाशन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताउनुभयो। सचिवालयका अनुसार साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने कार्यक्रम रहेको छ । एउटा समितिमा एकमात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । एक भन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया मार्फत सभापति छनोटको गरिनेछ ।









































