नयाँ दिल्ली, 20 अगस्त, गोविन्द पोख्रेल
भारतमा पनि हिन्दु नेपाली नारीहरुको महान चाड हरितालिका तीजको रौनक छाइसकेको छ । दिल्ली लगायत नेपालीहरुको बाक्लो उपस्थिति रहने क्षेत्रहरुमा हरेक वर्ष वृहत स्तरमा हरिलातिका तिज मनाइने भएपनि यसवर्ष वृहत सांस्कृतिक कार्यक्रम नगरिने भएको छ । तर पनि पारिवारिक जमघटका साथ विभिन्न क्षेत्रहरुमा तिज कार्यक्रम हुने भएका छन । विगतका वर्षहरुमा जन्माष्टमीदेखि नै भारत भरी विभिन्न सांस्कृतिक कार्यक्रम गरेर तीजलाई विशेष रुपमा मनाउने गरिन्थ्यो । भारतका कयौं शहरहरुमा नेपालका ख्याति प्राप्त कलाकारहरुलाई बोलाएर भव्यताका साथ मनाउने गरिने भएपनि यो वर्ष कोभिड-19 महामारीका कारण कुनै ठूला सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छैन । भारतमा रहेका विभिन्न नेपाली संगठनहरुले तीजको अवसरमा छुट्टा कार्यक्रम गरि मनाउने तीज विशेष कार्यक्रमको उत्साह यो पाली भने फिटिक्कै छैन ।

तर दिल्ली एनसीआरमा रहने नेपालीहरुले भने सामान्य रुपमा तीज कार्यक्रमहरु गर्ने बताएका छन । तिज अघि अहिले भने मानिसहरु दर खान/ खुवाउन व्यस्त छन । परिवारसहित रहने अधिकांश नेपालीहरुले स-सानो स्तरमा मीठा-मीठा परिकारका साथ आफ्ना इष्टमित्रहरुलाई दर खुवाइरहेको जानकारीहरु पाइएको छ । यद्धपी पराई घर गइसकेका छोरीचेलीहरुलाई घर बोलाएर मीठो-मीठो परिकार खुवाउने दिनका रुपमा रहेको दर खाने दिनमा भारतमा रहेका नेपालीहरुले भने इष्टमित्रहरुलाई घर बोलाएर यो दर खाने गरेका छन ।









































