काठमाडौं, 25 अगस्त 2020
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड-१९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव गरिएको बताउनु भएको छ। विश्वमा विभिन्न सातवटा कम्पनीले भ्याक्सिन निर्माण गरी क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगेको अवस्था रहेकाले ती मध्ये तीनवटा कम्पनीसँग मिलेर नेपालमा पनि क्लिनिकल ट्रायल गर्न प्रस्ताव गरिएको बताउनुभयो। न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सदस्यसचिव ज्ञवालीले रुसमा बनेको भ्याक्सिन, चीनमा बनेको भ्याक्सिन र अक्सफोर्ड विश्वविद्यालयको समुहले बनाएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा पनि गर्न प्रस्ताव गरिएको बताउनुभयो। त्यसमध्ये चीनको होङसी कम्पनीले निर्माण गरेको भ्याक्सिन एक हजार जनाका लागि ट्रायल गर्न प्रस्ताव आइसकेको बताउनुभयो। त्यस्तै रुसमा निर्माण भएको भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न र उत्पादन सम्भाव्यता भए नेपालले पनि भ्याक्सिन बनाउनका लागि लगानी गर्ने सम्बन्धमा प्रस्ताव गरिएको बताउनुभयो। उहाँले नेपालका लागि रुसी राजदूतसँग आफैले भेटेर क्लिनिकल ट्रायल र उत्पादनका लागि चिठि लेखेर दिएको बताउनुभयो।

तेस्रो चरणको क्लिनिकल ट्रायल गर्नका लागि पनि केही प्रक्रिया पुरागर्नुपर्ने सदस्यसचिव ज्ञवालीले बताउनुभयो। नेपालमा ‘सेन्ट्रल इथिकल रिभ्यु बोर्ड’ एनएचआरसी अन्तर्गत विभिन्न विषय विज्ञहरु सहितको स्वतन्त्र बोर्ड रहेको र त्यहाँ छलफल भएपछि मात्रै क्लिनिकल ट्रायलका लागि स्वीकृतिको चरणमा लगिने बताउनुभयो। क्लिनिकल ट्रायलका लागि इथिकल रिभ्यु बोर्डबाट पास भइसकेपछि औषधि व्यवस्था विभागमार्फत लाइसेन्सका लागि अनुमति माग्ने बताउनुभयो । बोर्डबाट लाइसेन्स प्राप्त भएपछि मात्रै क्लिनिकल ट्रायलको कार्यान्वयन गरिने पनि उहाँले स्पस्ट पार्नुभयो । भ्याक्सिनको क्लिनिकल ट्रायलका लागि स्वास्थ्य मन्त्रालयसँग छलफल भइरहेको पनि उहाँले बताउनुभयो। क्लिनिकल ट्रायलका लागि प्रधानमन्त्री स्तरबाट स्वीकृति लिनु नपर्ने पनि ज्ञवालीले स्पस्ट पार्नुभयो। त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लिडिङ अर्गनाइजेसनको रुपमा रहेको र उसले पनि क्लिनिकल ट्रायलका विषयमा हेरिराखेको हुनुपर्ने उहाँले बताउनुभयो। सबै चरणका क्लिनिकल ट्रायल पास भएका भ्याक्सिनलाई डब्लुएचओले पनि स्वीकृति दिने विश्वास गरिएको पनि उहाँले बताउनुभयो।









































